रुस–युक्रेन युद्धको दुई वर्ष पूरा : रुसी सेनामा आफ्ना केही नागरिक भर्ती भएको भारतको पुष्टि

 फागुन १२, २०८० शनिबार १२:१२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रुस–युक्रेन युद्ध शुरु भएको आज दुई वर्ष पूरा भएको छ । रूसले सन् २०२२ फेब्रुअरी २४ तारिखमा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही शुरु गरेको थियो । तर अझै पनि दुई देशबीचको लडाइँ रोकिने सम्भावना देखिएको छैन । किएभले आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनर्स्थापित गर्न लडाइँ निरन्तर रहने जनाएको छ ।

त्यस्तै मस्को पनि आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा छ । रुसले युक्रेनको झण्डै १८ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ । यसमध्ये क्राइमिया प्रायद्वीपलाई उसले सन् २०१४ मा आफ्नो देशमा गाभेको थियो र डोनेट्स्क र लुहान्स्कलाई पनि त्यसबेला नै कब्जा गरेको थियो ।

युक्रेनले रुससँगको लडाइँका लागि ठूलो मात्रामा सैन्य, आर्थिक तथा मानवीय सहयोग प्राप्त गर्दै आएको छ । पश्चिमले दिएका ट्याङ्क, हवाई सुरक्षा उपकरण तथा लामो दुरीसम्म प्रहार गर्न सक्ने तोपहरूले युद्धमा युक्रेनलाई धेरै सघाएका छन् । रुसलाई छिमेकी बेलारुसले आफ्नो भूमि तथा हवाई क्षेत्र प्रयोग गर्न दिइ समर्थन गरिरहेको छ ।

चीनले युक्रेनमाथि रूसको आक्रमणको निन्दा गरेको छैन तर रूसलाई सैन्य समर्थन पनि नगरेको विभिन्न आधारमा बीबीसीले विश्लेषण गरेको छ । यसैबीच रुसी सेनाका लागि आफ्ना नागरिकहरू भर्ती भएको भारतले पुष्टि गरेको छ । भारतको विदेश मन्त्रालयले केही आफ्ना नागरिक रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको पुष्टि गरेको हो ।

यस्तै रुसी सेनामा भर्ना भएकामध्ये अहिलेसम्म कम्तीमा १२ जना नेपालीको ज्यान गएको छ । पाँच जना युक्रेनी सेनाको कब्जामा छन् । एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि निवेदन दिएका छन्। यसबाहेक के–कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका वा घाइते वा हराएका छन् भन्ने विवरण नेपाल सरकारसँग छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया