भारतको उत्तर प्रदेशमा तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको ज्यान गयो

 फागुन १२, २०८० शनिबार १८:११:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारत उत्तर प्रदेशको कासगञ्ज जिल्लामा तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको ज्यान गएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् ।

उत्तर प्रदेशको जयथारा गाउँबाट गङ्गा नदीमा स्नान गर्न जाने तीर्थयात्री बोकेको ट्र्याक्टर गढाई गाउँ नजिकै पोखरीमा खसेको इन्डियन एक्सप्रेसले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका खबरमा उल्लेख छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र पोखरीमा फसेकाहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।

तीव्र गतिमा रहेको ट्र्याक्टरकाे ट्रली इन्जिनबाट अलग भएर पोखरीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीले पनि दुर्घटनाको मुख्य कारण तीव्र गति नै रहेको उल्लेख गरेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाएकाका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार भारु राहत दिने घोषणा गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया