रुस–युक्रेन युद्ध : ‘झन्डै ५० हजार जना सर्वसाधारण मारिए’– युक्रेन

 फागुन १२, २०८० शनिबार १८:२३:५२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुस–युक्रेनबीच भएको युद्धमा झन्डै ५० हजार जना सर्वसाधारण मारिएका युक्रेनले जनाएको छ । युद्ध शुरु भएको दुई वर्ष पूरा भएको सन्दर्भमा युक्रेनका अधिकारीहरूले सर्वसाधारण मारिएको यकिन तथ्याङ्क अभाव भए पनि झन्डै ५० हजार जना सर्वसाधारण मारिएका बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

रुसले सन् २०२२ को फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण शुरु गरेको हो । रुस र युक्रेन दुवै पक्षले सैनिकको मृत्यु र घाइतेको सङ्ख्या सार्वजनिक गरेका छैनन् । छ महिनाअघि अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै झन्डै ७० हजार युक्रेनी सैनिकको ज्यान गएको र एक लाखको हाराहारीमा घाइते भएका उल्लेख गरेको थियो । यस्तै गएको डिसेम्बरमा सार्वजनिक भएको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा तीन लाख १५ हजार रुसी सैनिक मारिएको वा घाइते भएको उल्लेख गरेको थियो । तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन ।

रुसले युक्रेनको झन्डै १८ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ । यसमध्ये क्राइमिया प्रायद्वीपलाई उसले सन् २०१४ मा आफ्नो देशमा गाभेको थियो र डोनेट्स्क र लुहान्स्कलाई पनि त्यस बेला नै कब्जा गरेको थियो । अघिल्लो वर्ष युक्रेनले प्रत्याक्रम बढाउँदा रुस रक्षात्मकजस्तो देखिएकोमा पछिल्ला महिनामा ऊ पुनः आक्रमक बनेको छ ।

तेस्रो वर्षमा प्रवेश गरिसक्दा पनि लडाइँ सकिने कुनै लक्षण देखिएको छैन । युक्रेन, रुस वा उनीहरूका सहयोगीले शान्ति सम्झौताका लागि कुनै आधार फेला पारेका छैनन् । युक्रेनले आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनर्स्थापित हुनुपर्ने माग राख्दै रुसी सेनालाई जुनसुकै हालतमा बाहिर निकाल्ने बताउँदै आएको छ । रुस भने युक्रेन पूर्णरूपमा राष्ट्र नभएको र आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा छ ।

कुनै पक्षले आत्मसमर्पण गर्ने सम्भावना नरहेको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्ताबाट हट्ने लक्षण पनि नदेखिएकाले रुस–युक्रेन युद्ध लामो समय जारी रहने सम्भावना रहेको विश्लेषकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया