जापानमा साढे १२ सय वर्ष पुरानो एक महोत्सवमा पहिलो पटक महिलाको सहभागिता

 फागुन १३, २०८० आइतबार ९:९:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जापानको समुद्री तटमा एक हजार दुई सय ५० वर्षअघि शुरु भएको नग्न महोत्सवमा पहिलो पटक महिला पनि सहभागी भएका छन् । मध्य जापानको कोनोमिया तीर्थस्थलमा हदाका मात्सुरी अथवा नाङ्गो महोत्सव मनाउन थालेको १२ सय ५० वर्षपछि महिलाले सहभागिता जनाउन पाएको र यो ठूलो उपलब्धि भएको जापानका महिला अधिकारकर्मीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

महोत्सव अर्थात पर्व मनाउने क्रममा समुद्री तटमा पुरुषहरू धकेलाधकेल गर्दै तीर्थस्थलतर्फ जान्छन् । उनीहरु वाशोई ! वाशोई ! अर्थात जाऔँ, जाऔँ भन्दै चिच्याउँछन् । पर्वमा दुष्ट आत्मालाई भगाउने विश्वास गरिन्छ । यस वर्ष पुरुषहरुको समूह भन्दा केही टाढा रहेर महिलाहरुको एउटा समूह पनि सहभागी भएको हो ।

महोत्सवमा सहभागी महिलाहरुले नग्न नभइ एकैखालको परम्परागत कोट लगाएका छन् । लामो समयदेखि महिलाहरुले महोत्सवमा सहभागिताका लागि माग गर्दै आएकोमा यस वर्ष पूरा भएको बीबीसीको खबरमा उल्लेख छ ।

आर्थिक रुपमा सफल र विकसित देश भए पनि जापान लैङ्गिक सहभागिताका दृष्टिमा कमजोर छ । विश्व आर्थिक फोरमको सन् २०२३ को लैङ्गिक अन्तर सूचकाङ्कमा एक सय ४६ देशमध्ये जापान एक सय २५ स्थानमा छ । आइसल्याण्ड पहिलो, नर्वे दोस्रो र फिनल्याण्ड तेस्रो स्थानमा छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया