लिग–२ को पहिलो शृङ्खलामा नेपालको खराब प्रदर्शन, ४ मध्ये ३ खेलमा पराजित

 फागुन १३, २०८० आइतबार १८:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को घरेलु मैदानमा भएको पहिलो शृङ्खलामा नेपालले खराब प्रदर्शन गरेको छ ।

शृङ्खलाको अन्तिम खेलमा आज नेपाल नेदरल्यान्डसँग ८ विकेटले पराजित भयो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले मात्र २ विकेट गुमाएर ७३ बलअघि नै भेटायो । नेदरल्यान्ड्सका विक्रमजित सिंहले ५८, साइब्रान्ड एङ्गलब्रेच्टले ४६ रन बनाए । विक्रमजित र साइब्रान्डले तेस्रो विकेटका लागि अविजित १ सय २ रनको साझेदारी गरे ।

नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ३ बल बाँकी छँदा १ सय ७२ रन बनाएर आउट भयो । नेपालका कुशल भुर्तेलले ६६ रन बनाए । नेदरल्यान्ड्सका भिभान किङ्मा र आर्यन दत्तले समान ३ विकेट लिए ।

यो हारसँगै नेपालले लिग–२ को पहिलो शृङ्खलामा ४ खेलमा २ अङ्क जोडेको छ । नेपालले ३ खेल हार्दा एउटा मात्रै जित्यो । शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो । यस्तै तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भयो ।

नामिबिया ४ खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेर लिग–२ को पहिलो शृङ्खला सकेको छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । लिग–२ को अर्काे शृङ्खला आउँदो बुधवारदेखि यूएईको दुबईमा शुरु हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया