मिटरब्याज पीडितको समस्या समाधान गर्न गृह मन्त्रालयले वार्ता टोली बनायाे

 फागुन १३, २०८० आइतबार १८:३४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मिटरब्याज पीडितहरूसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । गृह मन्त्रालयले सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई वार्ताका लागि पत्रसमेत पठाइसकेको जानकारी दिएको छ । सङ्घर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम भइरहेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयले सहसचिव पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेकाे हो ।

छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनु आग्रह पनि गरेको छ । यसअघि मिटरब्याज पीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः न्याय माग्दै चितवनबाट पैदल हिँडेर काठमाण्डाै आइपुगेका थिए । मिटरब्याज पीडितहरूले आजदेखि उत्पयका केन्द्रित आन्दोलन शुरु गरेका छन् ।

यसअघि गएको वर्षको चैत २ गते मिटरब्याज पीडितलाई न्याय दिलाउन भनेर एक टोली ११ दिनको पैदल यात्रापछि काठमाण्डौ आएको थियो । काठमाण्डौमा झन्डै एक हप्ता आन्दोलन गरेपछि सरकार र मिटरब्याज पीडितहरूबीच चैत १८ गते पाँच बुँदे सहमति भएको थियो । सहमतिअनुसार सरकारले आयोग गठन गर्‍याे । झन्डै २८ हजार उजुरी परेकोमा पाँच हजार उजुरीमा मिलापत्र पनि भयो तर पनि मिटरब्याज पीडितको आन्दोलन अझै रोकिएको छैन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया