लघुवित्त पीडितले संसद् भवन परिसरभित्रै पुगेर प्रदर्शन गरे

 फागुन १४, २०८० सोमबार १८:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – लघुवित्त पीडितहरूले सङ्घीय संसद् भवन परिसरभित्रै प्रदर्शन गरेका छन् । आज दिउँसो संसद् बैठक चलिरहेका बेला लघुवित्त पीडितहरू संसद् भवन परिसरभित्रै पुगेर नाराबाजी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले लगाएको निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू सङ्घीय संसद् भवन परिसरमा प्रवेश गरेका हुन् । उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएको छ ।

संसद् भवन परिसरमा विशेष प्रवेश पास लिएर मात्रै प्रवेश दिने व्यवस्था छ । प्रवेश गर्ने व्यक्तिहरूलाई पनि सुरक्षा जाँच हुन्छ । संसद् भवन परिसरमा तीन वटा ढोका छन् । नयाँ बानेश्वर चोकतर्फको दुई नम्बर गेटबाट उनीहरू प्रवेश गरेको प्रहरीले जानकारी गराएको संसद् सचिवालयले जनाएको छ । दुई नम्बर गेट सांसदहरूको आवतजावतका लागि मात्रै खुला हुन्छ । सांसदहरू बाहिरिने क्रममा पूरै ढोका खोलिएको र अचानक महिलाहरू बलपूर्वक भित्र पसेका प्रहरीले जानकारी गराएको सचिवालयले जनाएको छ । गेटमा पुरुष प्रहरी मात्रै रहेको र महिलालाई रोक्न महिला प्रहरी बोलाउँदासम्म उनीहरू भित्र पसेका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले लघुवित्त पीडितहरू संसद् भवन परिसरमा प्रवेश गरेको बारेमा छानबिन गर्न काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक (डीएसपी) दिनेश घिमिरे सदस्य रहेको समिति गठन गरेको र समितिको प्रतिवेदनपछि थप कदम चाल्ने प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले बताउनुभयो ।

प्रदर्शनकारीहरूलाई संसद् भवनभित्र जानबाट भने संसद् भवनको भित्री सुरक्षामा खटिएका मर्यादापालकले रोकेका थिए । संसद् भवन परिसरमा नाराबाजीपछि उनीहरूले त्यहीँ सुतेर प्रदर्शन गरेका थिए ।

लघुवित्तबाट लिइने महँगो ब्याज घटाउनुपर्ने माग गर्दै विगत एक हप्तादेखि काठमाण्डौको विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरू देशका विभिन्न ठाउँबाट हिँडेरै काठमाण्डौ आएका हुन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया