जापानले चन्द्रमामा पठाएको ल्यान्डर झन्डै २ हप्तापछि पुनः जाग्यो

 फागुन १५, २०८० मंगलबार १८:३१:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानले चन्द्रमामा अवतरण गराएको अन्तरिक्ष यानको ल्यान्डर चन्द्रमाको रात सकिएपछि पुनः जागेको छ ।

ऊर्जा प्रणालीमा समस्या आएकोले रात परेपछि काम नगर्ने सम्भावना रहेकोमा रात सकिएपछि पुनः सक्रिय भएको जापानी अन्तरिक्ष निकाय (जाक्सा) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । चन्द्रमामा रात सकिएपछि ल्यान्डरलाई पृथ्वीबाट निर्देशन दिइएको र त्यसले पठाएको प्रतिक्रिया पनि प्राप्त भएको जाक्साले जनाएको छ ।

चन्द्रमामा हुने एक रातको अवधि पृथ्वीमा दुई हप्ताजतिकाे हुन्छ । रात पर्दा चन्द्रमामा निस्पट्ट अन्धकार र निकै चिसो हुने हुन्छ । यसअघि भारतले चन्द्रमामा अवतरण गराएको ल्यान्डरले रात परेपछि काम गर्न छाडेको थियो । जापानी अन्तरिक्ष निकाय (जाक्सा) ले ल्यान्डरलाई चन्द्ररात्रिमा हुने कठोर अवस्था खप्ने गरी नबनाएको भए पनि पुनः काम गर्नु खुशीको कुरा भएको बताएको छ ।

बेलायतमा रहेको ओपन युनिभर्सटीका सिमिअन बार्बरले पनि चिसो चन्द्ररात्रिपछि ल्यान्डर पुनः सक्रिय भएको खबर अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँका अनुसार चन्द्रमामा दीर्घकालीन रोबटिक वा मानवसहितको अभियान चलाउने हो भने चन्द्रमाको रातमा जोगिनु ठूलो प्राविधिक चुनौती पार गर्नु रहेको उहाँको भनाइ छ ।

बार्बरका अनुसार जापानी ल्यान्डर अवतरण गरेको ठाउँमा दिउँसोतिर तापक्रम एक सय डिग्री सेल्सिअस पुग्छ । तर राति झरेर माइनस एक सय ३० डिग्री हुन्छ । यसअघि सौर्य प्यानल सूर्यको विपरीत दिशामा फर्किएकोले निकै छोटो सयम काम गरेको ल्यान्डरले अब आफ्नो उद्देश्यअनुरूप काम पूरा गर्ने विश्वास रहेको जाक्साले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया