बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी

 फागुन १७, २०८० बिहिबार १६:२५:११ | रासस
unn.prixa.net

बाँके– बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने नागरिकको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

अन्य कुनै उपाय नभएपछि तारजाली लगाउने योजना अगाडि सारेको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिनुभयो । राप्ती सोनारी–९ मा रहेको झिझरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा चार सय ७५ मिटर तारबार लगाइने वडाध्यक्ष थारुको भनाइ छ ।

बाँकेमा निकुञ्जसँग जोडिएको बैजनाथ गाउँपालिका–१ को चिसापानी, गाभर, कोहलपुर नगरपालिका–१३ को खड्कवार, भरैया र राप्ती सोनारी गाउँपालिका–९ को महादेवा, बुच्चापुर, वालापुर, वडा नम्बर ८ को शम्शेरगञ्ज, गोठेरी, बाँदरभरिया र वडा नम्बर १ को खासकुस्माका गाउँबस्तीमा जङ्गली जनावर प्रवेश गरी अन्न बाली नष्ट गरिदिएपछि सर्वसाधारण चिन्तित छन् ।

पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके निकुञ्जको कोहलपुरबाट शिवखोलासम्म पूर्व–पश्चिम राजमार्गको दूरी ७२ किलोमिटर रहेको छ ।

निकुञ्जभित्र पर्ने तीन सय ४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा निकुञ्जले पनि तारजाली निर्माण गर्ने गरेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत कुननारायण चौधरीले जानकारी दिनुभयो ।

बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले निकुञ्जका वन्यजन्तुबाट मानव तथा बालीनालीमा हुने क्षति न्यूनीकरण गर्न मध्यवर्ती क्षेत्रमा तारबारका लागि सङ्घीय सरकारसँग योजना माग गरेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया