‘सरकारका काम लक्ष्यअनुसार अघि बढेन, विकास निर्माणमा सिंहदरबारको प्रशासन सेलायो’

 फागुन १७, २०८० बिहिबार १८:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणलाई तीव्र बनाउन आफूले गरेका प्रयास पूरै सफल नभएको स्वीकार गर्नुभएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले नीति, कार्यक्रम र बजेटबीच सन्तुलन र समन्वय नमिल्दा परिणाम आउन नसकेको स्वीकार गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रालय तथा अन्य निकायहरूले निर्धारित वार्षिक लक्ष्य र सूचकहरूअनुसार कार्यसम्पादन पूरा गर्नुनपर्ने तथा राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको पनि उल्लेख गर्नुभयो ।

उहाँले राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनबीच एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले विकास निर्माणमा सिंहदरबारको प्रशासन तात्नुपर्नेमा सेलाएको महसुस गरेको पनि बताउनुभयो ।

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतप्रति लक्षित गर्दै प्रचण्डले मनोगत ढङ्गबाट लक्ष्यहरू निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको सुनाउनुभयाे । उहाँले माघ मासन्तसम्म एक हजार सात सय ६७ वटा 'माइलस्टोन' सम्पन्न हुनुपर्नेमा ३६ प्रतिशतमात्रै सम्पन्न भएको र चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा दुई सय ४५ वटा अझै शुरु नै हुन नसक्नुले कार्यक्षमतामाथि नै प्रश्न उठेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले माघसम्म कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा झन्डै ४० प्रतिशतमात्रै रहेको, पुँजीगत खर्च २४ प्रतिशतभन्दा कम भएको लगायतका विषयमा पनि असन्तोष पोख्नुभयो । यस्तै उहाँले आउँदो वैशाखमा हुने लगानी सम्मेलनलाई मध्यनजर गरी कानुनहरूको संशोधन गर्ने काम अघि बढाएको पनि दाबी गर्नुभयो ।

उहाँले पूर्वाधारसँग सम्बन्धित आयोजना कार्यान्वयनमा देखिएका समस्या हल गर्ने र वन तथा जग्गा प्राप्तिसँग सम्वद्ध समस्यालाई हल गर्ने गरी कानुन परिमार्जनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सामान्य नतिजामा सन्तोष गर्ने सुविधा नरहेकोमा पनि सबैलाई सचेत गराउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया