तीन जना मन्त्रिसहित आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदै, सपथका लागि राष्ट्रपति कार्यालयमा तयारी

 फागुन २१, २०८० सोमबार १५:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नयाँ गठबन्धनबारे जानकारी दिँदै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी गराउनुभएको हो ।

उहाँले केही मन्त्रीहरुको नियुक्ति हुने भएकाले सपथ गराइदिन आग्रह गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ । बेलुकासम्म मन्त्रीहरुको नाम पठाउने प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।

उहाँले अहिले कांग्रेसको तर्फबाट बनेका सबै मन्त्रीहरुलाई हटाएको पनि जानकारी गराउनुभएको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई आजै मन्त्री बनाउने तयारी छ । राष्ट्रपति कार्यालयले सपथ ग्रहणका लागि तयारी अवस्थमा रहेको जनाएको छ ।

यसैबीच नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव रहेका रहनुभएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुङ्गो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने छ । 

यसैबीच सत्ता गठबन्धन भत्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । सभापति देउवाले भोलि दिउँसो तीन बजे बुढानीलकण्ठमा रहेको आफ्नै निवासमा बैठक बोलाउनुभएको हो ।

यस्तै नयाँ गठबन्धनमा सहभागी हुने नहुने भन्ने अन्योलमा रहेको नेकपा एकिकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र गठबन्धनमा सामेल हुने/नहुनेबारे छलफल गर्न अहिले केहीबेरमा सचिवालयको बैठक बस्न लागेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया