कञ्चनपुर प्रहरीले ३ दिनमा २५ जना फरार अभियुक्तलाई पक्राउ गर्‍याे

 फागुन २४, २०८० बिहिबार १२:२१:४२ | रासस
unn.prixa.net

कञ्चानपुर – कञ्चनपुर प्रहरीले तीन दिनमा २५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारु गिरी, रत्ना गिरी, तुल्सी गिरी, झिरकुली वन, राधा वन र भाखा सिंहलाई पक्राउ गरेको छ ।

त्यसैगरी पाँच दिनअघि पनि प्रहरीले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट फैसला भएका मुद्दाका १० जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । २०७० सालमा कुटपिट मुद्दाका दीपक थलाल, रामदत्त भट्ट, राजी थलाल र राम थलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले अभद्र व्यवहार मुद्दाका नीरा दमाई, पशुपति दमाई, गोपाल चुनारा, महेश लुहार, आशिष सुनाह र अनुज गुप्तालाई पक्राउ गरेको थियो । जबरजस्ती करणी मुद्दामा २०७९ साल चैतमा अदालतबाट छ महिना कैद र तीन हजार रुपैयाँ जरिबाना सजाय भएका केशवराज भट्टलाई गएको आइतवार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै अभद्र व्यवहार मुद्दाका सोलु बडैला, आयुश भट्टराई, चोरी मुद्दाका कोसिस कार्की, सवारी ज्यान मुद्दाका नरसिंह धामी, गाली बेइज्जती मुद्दाका भरत दमाई, पुनी दमाई र जोगीराम दमाई तथा किर्ते जालसाजी मुद्दाका पुरन कुमाललाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले फरार अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याउने क्रमले गति लिएको बताउनुभयो । विभिन्न मुद्दामा कैद सजाय र जरिबाना तोकिएका झन्डै तीन हजार जना फरार सूचीमा रहेका एसपी जोशीले बताउनुभयो । फरार रहेका अभियुक्तलाई कानुनी दायरामा ल्याउन मातहतका सबै युनिटसम्म सर्कुलर नै गरेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया