उत्पादन लागतमा नाेक्सानी बेहाेरेका १६ वटा कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान

 फागुन २४, २०८० बिहिबार १२:३७:१२ | रासस
unn.prixa.net

पोखरा – पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहाेरेका १६ वटा कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरका मेयर धनराज आचार्यले किसानलाई रकम प्रदान गर्नुभएको हो ।

महानगरले ६० हजार चार सय ४१ किलो च्याउ, २५ हजार चार सय १७ किलो गोलभेँडा, नौ हजार पाँच सय २० किलो सिमी र दुई सय ९१ किलो कोदो गरी ९५ हजार छ सय ६९ किलो उपजको २६ लाख ७९ हजार सात सय ६१ रुपैयाँ समर्थन मूल्य प्रदान गरेको हो ।

महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । महानगरभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका किसानलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो ।

उहाँले बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान विस्थापित हुँदै गएकाले त्यसलाई रोक्न महानगरले कृषि उपजको समर्थन मूल्य तोकेको उल्लेख गर्नुभयो । यदि किसानले आफ्ना उत्पादन समर्थन मूल्यभन्दा कममा बेच्नुपरेमा महानगरले बाँकी रकम किसानलाई दिन्छ ।

न्यूनतम समर्थन मूल्य तोकिएका बालीको दाबी गर्नका लागि किसानले आफूले लगाएको बालीको नाम, जात र क्षेत्रफल अगाडि नै दर्ता गर्नुपर्छ । समर्थन मूल्य प्राप्त गरेपछि किसानले कृषि व्यवसायका क्रममा आफूले बेहाेर्नुपरेको नोक्सानीमा मलम लगाउन महानगरपालिका सारथी बनेको किसानहरूको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया