दादुरा–रुबेला खोप अभियानमा २० लाख बालबालिकाले खोप लगाए

 फागुन २४, २०८० बिहिबार १५:१३:१४ | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले खोप लगाएका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार झण्डै ३४ प्रतिशतले खोप लगाएका हुन् । ३१ जिल्लाले प्रतिबेदन  बुझाएका छैनन् । हिमाली क्षेत्रका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन शुरु भएको छ ।

हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान शुरु भएको छैन । सरकारले फागुन १३ गतेदेखी शुरु गरेको दादुरा–रुबेला खोप अभियान चैत ७ गतेसम्म चल्नेछ । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाण्डाै उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ ।

खोप लगाउन छुटेको भएमा आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा लगेर खोप लगाउन डा गौतमले अनुरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया