राष्ट्रिय सभा अध्यक्षको चुनावअघि सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस रणनीति बनाउँदै

 फागुन २७, २०८० आइतबार ८:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय सभा अध्यक्षको चुनाव अघि सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस रणनीति बनाउन जुटेका छन् । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुङ्गाे लगाउने जनाएको छ । हिजो बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप छलफलपछि अध्यक्षको टुङ्गो लगाउने बताउनुभएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराउनुभएको थियो ।

नयाँ समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति भएको थियो । माओवादीबाट अहिले राष्ट्रिय सभाको उपाध्यक्ष उर्मिला अर्याल हुनुहुन्छ । अध्यक्षमा अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ । तर सुवेदीलाई अध्यक्षको उम्मेदवार बनाउँदा ६ वर्ष अध्यक्ष आफ्नो हुने भएकाले उहाँको सम्भावना धेरै भएको अनुमान गरिएको छ । एमालेलाई राष्ट्रिय सभा उपाध्यक्ष दिने सहमति भएकाले अर्यालले राजीनामा दिनुपर्नेछ ।

माओवादीसँग गठबन्धन कायम हुँदा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको रुपमा अगाडि सारेको थियो । तर गठबन्धन टिक्न नसकेपछि कांग्रेसले यही राष्ट्रिय सभाको चुनावमार्फत् नयाँ गठबन्धन बनाउने रणनीति लिएको छ । उसले विपक्षी अरु दलसँग छलफल गरी पार्टीबाट उम्मेदवार तय गर्ने जनाएको छ । हिजो सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने र सहयोग माग्न अरु दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौलालाई मनोनयन समेत गरेको छ । माघमा भएको राष्ट्रिय सभा चुनावमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित हुनुभएको थियो । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् । ५९ जना सदस्य रहेको राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धन–एमाले, माओवादी, एकिकृत समाजवादी र जसपाको बहुमत छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल गएको फागुन २० मा सकिएको थियो । राष्ट्रिय सभा अध्यक्षको चुनाव पर्सि २९ गते हुँदैछ । चुनाव अन्तर्गत भोलि सोमवार उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालका अनुसार आज बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुनेछ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया