मनाङका किसान स्याउको बगैँचा गोडमेलमा व्यस्त

 फागुन २८, २०८० सोमबार १५:५२:२८ | रासस
unn.prixa.net

फाइल फाेटाे

मनाङ – मनाङका किसान स्याउको बगैँचा गोडमेलमा व्यस्त रहेका छन् । माघ र फागुन महिनामा स्याउको बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने काम गरिन्छ । त्यसैले अहिले मनाङका किसान स्याउका बगैँचा व्यवस्थापन गर्ने चटारोमा रहेका हुन् ।

पात झर्ने भएकोले यस बेला स्याउको बगैँचा उजाड देखिन्छ । फूल फुल्नुअघि नै काँटछाँट सक्ने नासोँ गाउँपालिका वडा नम्बर ८ का स्याउ किसान सोलबहादुर गुरुङले बताउनुभयो । जाडो छल्नका लागि अन्यत्र गएका मनाङबासी स्याउको बगैँचा गोडमेलका लागि घर फर्किसकेका छन् । समयमै बगैँचाको गोडमेल गरेपछि उत्पादन राम्रो हुने भएकोले चिसो नसकिँदै घर फर्किएर काम गरिरहेको नासोँ–६ तिल्चेका टंक गुरुङले बताउनुभयो ।

यति बेला मनाङको नासोँ, चामे, ङिस्याङ तथा नार्पाभूमिका स्याउ बगैँचा व्यवस्थापन भइरहेको छ । फागुन महिना लागेसँगै किसानले उजाडिएका स्याउ बगैँचामा गोडमेल, सिँचाइ गर्ने, मलजल गर्ने, रोग, किराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र बोटमा फैलिएका अनावश्यक हाँगाबिँगा काँटछाँट गर्ने कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया