तनहुँमा प्रधानाध्यापक, शिक्षक र कर्मचारीले गरे छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय

 फागुन २९, २०८० मंगलबार ९:३३:० | रासस
unn.prixa.net

काठमाण्डौ – तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आउँदो शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।

गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि यस्तो निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले  जानकारी दिनुभयो । नयाँ शैक्षिकसत्रदेखि यो निर्णय लागू हुनेछ । गाउँपालिकाका जनप्रतिनिधिले गएको शैक्षिकसत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान शुरु गरेका थिए ।

जनप्रतिनिधिको अभियानलाई साथ दिन प्रधानाध्यापक तथा शिक्षकहरूले निर्णय गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले शुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकहरूले सहयोग गरेर आफूलाई थप हौसला मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नम्बर ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया