सत्ता गठबन्धनका ५ दलबीच ७ बुँदे सहमति : नेता नेपालको पनि हस्ताक्षर

 फागुन २९, २०८० मंगलबार १२:५४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता गठबन्धनका पाँच दलबीच आज (मङ्गलवार) सात बुँदे सहमति भएको छ । यसअघि चार दलबीच भएको आठ बुँदे सहमतिलाई परिमार्जन गरी नेकपा (एकीकृत समाजवादी) लाई समेटेर सात बुँदे सहमति भएको हो ।

सत्ता गठबन्धनको सहमति पत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गर्नुभएको छ । पाँच दलबीच भएको आजको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि चार दलबीच भएको सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर आजको नयाँ सहमति पत्रमा राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।

प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारलाई सुदृढ गर्ने, अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र यससँग सम्बन्धित अरू विषयलाई सहमतिका आधारमा छिटै टुङ्याउने, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, वर्तमान आर्थिक समस्यालाई सम्बोधन गर्ने र राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने सहमति भएको हो ।

गएको फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच निरन्तर छलफल हुँदै आएको छ । यसैअनुसार आज बिहान पनि उहाँहरूबीच बालुवाटारमा विभिन्न विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आबद्ध दलहरूबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया