राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित, कांग्रेसका शर्मा पराजित

 फागुन २९, २०८० मंगलबार १३:३५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । सभाको आज बसेको बैठकले दाहाल बहुमतले निर्वाचित भएको घोषणा गरेको हो ।

दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य गरी ३८ जनाले पक्षमा मत दिए । यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिनुभयो ।

दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित हुनुभयो । शर्माको विपक्षमा बहुमत सदस्यले मत व्यक्त गरेपछि प्रस्ताव अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ ।

आजको मतदानमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चा नेपालका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारलाई भोट दिनुभएन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया