पैसा दिएर नागरिकताको प्रतिलिपि सङ्कलन गरेको आरोपमा २ बङ्गलादेशीसहित ३ जना पक्राउ

 चैत १, २०८० बिहिबार १८:२८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ — प्रहरीले मोरङमा पैसा दिएर सर्वसाधारणकाे नागरिकताकाे फाेटाेकपी सङ्कलन गरेको आरोपमा दुई बङ्गलादेशीसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाण्डौको नयाँबजार बस्ने सुनीता खत्रीसहित बङ्गलादेशी नागरिक मोहमद महबुर हुसेन र मोहमद तानविर हुसेनलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरूले गएको फागुन २८ गते अन्तर्राष्ट्रिय परोपकारी संस्थाको प्रतिनिधि भएको बताउँदै मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ सलकपुरका बासिन्दालाई एक हजारदेखि १५ सय रुपैयाँसम्म दिएर नागरिकताको फोटो खिचेका थिए । ३० जनाभन्दा धेरैको नागरिकताको फोटो खिचेर लगेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

नेपालीको नागरिकता प्रयोग गरेर अनलाइनमार्फत ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताउनुभयो । नागरिकताको प्रयोग गरी डिजिटल वालेटको खाता खोलेर ई–सेवा र खल्तीमा रकम जम्मा गर्ने उद्देश्य रहेको पाइएको दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया