काठमाण्डौ महानगरले ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै

 चैत २, २०८० शुक्रबार १६:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — काठमाण्डौ महानगरपालिकाले ठाउँहरूको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया शुरु गरेको छ ।

पहिलो चरणमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने काम पूरा गरेको काठमाण्डौ महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्कतले जानकारी दिनुभयो ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यका विभिन्न ठाउँहरूकाे प्राचीन नाम अध्ययन गरेको हो । सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक पहिचान मेटिँदै गएकोले प्राचीन नाम खोजी गरेको उहाँले बताउनुभयो ।

अहिले.प्रचलनमा रहेका नाम र प्राचीन नाम फरक हुने भएकोले अब प्राचीन नाम प्रयोगका लागि स्थानीय समुदायसँग अनुरोध गर्ने उहाँको भनाइ छ ।

अध्ययनका क्रममा ७० वर्षभन्दा बढी उमेरका बासिन्दाले ठाउँको प्राचीन नाम उच्चारण गर्ने गरेको पाएको महानगरपालिकाले जनाएको छ । केही नामहरू अप्रभंश भएका छन् भने केहीको नामहरू नेपालीकरण र अङ्ग्रेजीकरण पनि भएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया