खोटाङमा डढेलोले चारवटा घर जले

 चैत ४, २०८० आइतबार ८:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  खोटाङमा डढेलो फैलिएर बस्तीमा पस्दा चार वटा घर जलेका छन् । सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिकामा दुई घर र ऐँसेलुखर्क गाउँपालिकामा दुई घर जलेका हुन् ।

स्थानीय राते खोला सामुदायिक वनमा लागेको डढेलोले हिजो हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमाया राईको घर र गोठ, देवराज राईको घर र दुई वटा गोठ तथा ईश्वरमाया राईको गोठ जलेको हो ।

यस्तै, सतिदेवी र खेमकाजी सामुदायिक वनमा डढेलोले ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्सालको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । त्यही ठाउँका युवराज राईको गाई गोठ र बाख्राको खोर जलेको छ ।

डढेलोले ज्ञानमायाको घरसहित ३ वटा खसी, ५ वटा बाख्रा, १ वटा गोरु, एक थाँक्रो मकै, १० मुरी धान, १० वटा कुखुरा, ५ मुरी दाल, कोदो र गहत, ६० थान काठ, भाँडाकुँडा, लत्ताकपडा जलेको छ ।

देवराजको घर सहित चारवटा खसी, एउटा बाख्रा, ६ वटा पाठापाठी, ८ मुरी मकै, ५० थान काठ जलेको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो । वडाध्यक्ष राईका अनुसार ईश्वरमाया राईको गोठसहित घाँसपात, काठपातलगायत जलेको छ ।

यस्तै, ज्यामिरेका खुतप्रसादको घरसहित खाद्यान्न, लत्ताकपडा, कागज–पत्र, १५ वटा कुखुरा जल्दा २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । बुद्धिनाथको घरसहित भाँडाकुँडा, लत्ताकपडा, ६० वटा बाख्रालगायत जलेको प्रहरीले जनाएको छ ।

युवराजको गाई गोठ र बाख्रा खोरसहित भाँडाकुँडा, ६० थान काठ, १० थान जस्ता जल्दा २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । खोटाङका विभिन्न जङ्गलमा डढेलो फैलिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया