पोखरालाई पर्यटन राजधानी घोषणा गरिँदै, व्यापार व्यवसाय राति एक बजेसम्म खुल्ने

 चैत ४, २०८० आइतबार ९:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटन राजधानी घोषणा गरिँदैछ । आज बाराहीघाटमा हुने विशेष कार्यक्रमकाबीच पोखरालाई पर्यटन राजधानीकारुपमा घोषणा गर्न लागिएको हो ।

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा पुग्नुभएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर, छिमेकी पालिकाहरु, पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्था तथा उद्योग वाणिज्य सङ्घको पहलमा पोखरालाई नेपालकै पर्यटन राजधानी घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।

राजधानी घोषणासँगै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ तीनै तहका सरकारले काम गर्ने उहाँको भनाई छ । पोखराको पर्यटनमा झण्डै ७ खर्ब लगानी भएको र पर्यटन राजधानी घोषणाले पर्यटन पूर्वाधार निर्माणमा थप ध्यान पुग्ने अपेक्षा छ ।

पोखरामा ब्यापार व्यवसाय अब राति एक बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यसैगरी केही निश्चित व्यवसाय मापदण्ड पूरा गरेर २४ सै घण्टा खुला गर्न पाइने कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

गैराको चौतारादेखि चिप्लेढुङ्गा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक, विरौटा, राष्ट्र बैंक चोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लन चोकसम्म २४ सै घण्टा खुला राख्ने निर्णय भएको छ । यसबाट आर्थिक क्रियाकलाप बढ्नुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया