काठमाण्डौ महानगर—८ मा पुरातात्विक तथा लोपोन्मुख वस्तुको खोजी र उत्खनन शुरु

 चैत ४, २०८० आइतबार १२:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — काठमाण्डौ महानगरपालिका वडा नम्बर ८ भित्र रहेका ऐतिहासिक पुरातात्विक तथा लोपोन्मुख वस्तुहरूको खोजी र उत्खननकाे काम शुरु भएको छ । महानगरको सम्पदा तथा पर्यटन विभाग संयोजक एवम् वडाध्यक्ष आशामान सङ्गतको पहलमा वडाभित्र रहेका विभिन्न सांस्कृतिक तथा मासिएका कुवा, इनार, धारा, पाटीपौवालगायतको खोज, उत्खनन तथा अभिलेखीकरण गर्न थालिएको हो ।

वडामा रहेका नौ वटा इनार, नौ वटा डबली, नौ वटा ढोका, नौ वटा शक्तिपीठ, नौ वटा टोल, नौ वटा ढुङ्गेधारा, नौ वटा जात, नौ वटा पोखरी, नौ वटा पाटीपौवा तथा पुरातात्विक ऐतिहासिक संरचनाको संरक्षणका लागि पहल हुँदै आएको वडाध्यक्ष सङ्गतले बताउनुभयो । ताम्रेश्वर मन्दिर परिसरबाट वासुसशी गल्ली जाने तर्फको ऐतिहासिक, पुरातात्विक इनारको उत्खननसँगै वडाभित्र रहेका सम्पूर्ण ऐतिहासिक वस्तुहरूको पहिचान गर्ने वडाध्यक्ष सङ्गतले बताउनुभयो ।

जयवागेश्वरी युवा क्लबको अगाडि रहेको इन्द्रेश्वर महादेव परिसरमा रहेको इनारको पनि उत्खनन हुने भएको छ । त्यस्तै जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर परिसर जाने बाटोमा रहेको इनार तथा इटापाखाको पिपलबोटसँगै रहेको इनारसमेत खोजी गरी स–प्रमाण उत्खननकाे तयारी रहेको उहाँको भनाइ छ ।

झन्डै ५० वर्ष अगाडिदेखि स्थानीयबासिन्दाले त्यही इनारको पानी पिउने तथा ताम्रेश्वर महादेवलाई जल अर्पण गर्ने गरेकोमा बस्ती बाक्लो भएसँगै इनार पुरेर बाटो बनाएको हुनसक्ने अनुमान गरिएको छ । बस्ती विस्तार भएसँगै काठमाण्डौका अरू क्षेत्रमा पनि पाटीपौवा, धारा, इनार, डबलीलगायत लोप हुने र नासिने क्रम बढेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया