१८ वर्षमा सिक्टा सिँचाइ आयोजनाको काम ४० प्रतिशत, अहिलेसम्म २२ हजार हेक्टरमा सिँचाइ सुविधा

 चैत ४, २०८० आइतबार १५:२१:७ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाँके – निर्माण शुरु भएको १८ वर्षमा सिक्टा सिँचाइ आयोजनाको काम ४० प्रतिशत मात्रै सकिएको छ । आर्थिक वर्ष २०६२/६३ मा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सिक्टा सिँचाइ आयोजनाले अहिलेसम्म ४० दशमलव २२ प्रतिशत भौतिक प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ ।

यो आयोजनाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ काम शुरु भएको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा एक हजार हेक्टर र पूर्वी मूल नहरतर्फ चार हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिनुभयो ।

आयोजना शुरु भएदेखि अहिलेसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ३८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा विनियोजित ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन आयोजना निर्माण गरिएको निर्देशक देवराज निरौलाले बताउनुभयो । सिक्टा सिँचाइ आयोजना संशोधित गुरुयोजनाअनुसार आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया