मेलम्चीको पानी आए पनि काठमाण्डौमा खानेपानीको समस्या हट्न सकेन

 चैत ९, २०८० शुक्रबार १५:२०:२६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – एकभाँडा पानीका लागि घण्टौ लाइन बस्नुपर्ने बाध्यता रहेको काठमाण्डौको नरेफाँटमा सार्वजनिक धारामा पानी कुर्नेमध्येकी एक रेवती पौडेलको गुनासो छ । मेलम्चीसहितका विभिन्न आयोजनाले आफूहरुले भोग्नुपरेको अभाव हटाउन नसकेको उहाँले बताउनुभयो । पौडेल भन्नुहुन्छ, ‘सरकारले नागरिकका सानातिना समस्या छिट्टै बुझिदिए हुन्थ्यो ।’

काठमाण्डौको डल्लु बस्ने सरस्वती बुढामगरले पनि पानी आउने दिनमा रात र निद्राको माया मारेर अनिँदो बस्नुपर्ने बाध्यता कायमै रहेको बताउनुभयो । उपत्यकामा सतहमुनिको पानी सुक्दै गइरहेको भूगर्भविद् डाक्टर सुवोध ढकाल बताउनुहुन्छ । निर्माण भएका कतिपय खानेपानी आयोजना दिगो रुपमा सञ्चालन हुन सकेका छैनन् । मेलम्ची आयोजनाले केही राहत पुगेको भए पनि पर्याप्त छैन । मेलम्चीको पानी हिउँदमा वितरण हुने र बर्खामा बन्द हुने गर्छ ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै खानीपानीको माग धेरै रहेको र त्यसैअनुसार आपूर्ति हुन नसक्दा समस्या भएको बताउनुभयो । उपत्यकामा खानेपानीको माग ४७ करोड लिटर छ । तर मेलम्चीसहितका आयोजनाबाट २६ करोड लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । मागअनुसार खानेपानीको आपूर्ति व्यवस्थापन गर्न खानेपानीका नयाँ स्रोतहरु पहिचान गरी थप्नुपर्ने अवस्था रहेको प्रवक्ता राईले बताउनुभयो । मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको तथा याङ्ग्री र लाक्रे खानेपानी आयोजना निर्माणको टुङ्गो नलागेकाले थप अन्योल उत्पन्न भएको उहाँको भनाई छ ।

‘नेपालको संविधानको धारा, ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हक हुने व्यवस्था गरिएको छ तर नागरिकले उक्त मौलिक हकको प्रत्याभूति गर्न नपाएको र मौलिक हक कार्यान्वयनमा चुनौती रहेको छ,’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउनुहुन्छ । 

'हेडवर्क्स'नै स्थानान्तरण गरेर बाह्रै महिना मेलम्ची ल्याउने तयारी 

सरकारले मेलम्ची खानेपानी आयोजनाबाट उपभोक्ताहरुलाई बाह्रै महिना पानी वितरण गर्ने गरी अध्ययन सुरु गरिसकेको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको 'हेडवर्क्स' नै स्तान्तरण गरेर उपभोक्ताहरुलाई स्थायी रुपमा खानेपानी वितरण गर्ने लक्ष्य लिइएको हो । वर्षायामको सुरुआतसँगै बाढीबाट आयोजनाको ‘हेडवर्क्स’ नै जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द हुने गरेको छ । हिउँदमा आयोजना सञ्चालन गर्नुपर्ने र वर्षायाममा खोल्नुपर्ने अवस्था अन्त्य गर्न हेडवर्क्स नै अनेत्र स्तानान्तरणको तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धाराधारामा पानी वितरण गर्न हेडवर्क्र्स नै स्तानान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ । 

जलवायु अनुकूलन आवश्यक 

जलवायु परिवर्तनका कारण भावी दिनमा पानीको मुहान सुक्दै जाने र कतिपय ठाउँमा विकराल समस्या बन्ने जलावायु तथा विपद् व्यवस्थापनविद् डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो । ‘खानेपानीका मुहान सुक्दै गइरहेका छन्, पानीको उपलब्धता भोलिको दिनमा नहुन सक्छ र भावी दिनमा पानीको सङ्कट विकराल बन्न सक्छ,  पानी लिन टाढा जानु पर्न सक्छ, अर्थिक क्रियाकलापमा पनि धेरै असर पर्न सक्छ,’ उहाँले भन्नुभयो, ‘अबको समस्याको समाधान भनेको नवीकरणीय ऊर्जामा जानुपर्छ, वनको व्यवस्थापन गर्नुपर्छ, ‘रिचार्ज’ पम्पहरु बनाउनुपर्छ, पानी होल्ड गरेर राख्ने क्षमता बढाउन पोखरी बनाउनाका साथै पहिरो व्यवस्थापन गर्नुपर्छ ।’ 

सतहमुनिको पानी संरक्षण गर्न आवश्यक 

उपत्यकावासीलाई सतहमुनिको पानीले पनि सहजता दिलाएको छ तर सतहमुनिको पानी सुक्दै गइरहेको भू–गर्भविद् डा सुवोध ढकाल बताउनुहुन्छ । ‘उपत्यकामा धेरै घर बनेर सतहमुनिको पानी घटेको छ, ढुङ्गेपानीको तह घटिरहेको छ र यसले जमिन समेत भासिने खतरा बढाएको छ, जमिनमुनिको भण्डारको पानी निकालिएको छ तर पानी हाल्न सकिएको छैन, जमिनमुनि पानीको रिचार्ज बढ्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसले पानी सुक्ने खतरा पनि बढिरहेको छ, मेलम्ची आएपछि जमिनमुनिको पानी केही सञ्चिति हुन सक्छ तर सतहमुनिको पानी संरक्षणका लागि पनि राज्यले नीति लिएर अगाडि बढ्नुपर्छ ।’

आयोजनाको दिगोपना आवश्यक 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले संविधानले व्यवस्था गरेको स्वच्छ खानेपानी सबैको पाउनुपर्ने नागरिकको मौलिक हक कार्यान्वयन नभएको भन्दै सरकारले खानेपानीका कार्यक्रमलाई प्रथामिकता दिनुपर्ने बताउनुभयो । अर्यालले सङ्घ, प्रदेश र स्थनीयस्तरमा समन्वयको अभावका कारण धेरै स्थानमा कार्यक्रमको दोहोरोपनका समस्या धेरै आएको बताउनुभयो । निर्माण भएका कतिपय खानेपानी आयोजना दिगो रुपमा सञ्चालन हुन नसकेको उहाँको गुनासो छ । सन् २०२५ सम्ममा दुई अर्ब मानिसले पानीको चर्को अभाव झेल्नुपर्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ । बढ्दो जलवायु परिवर्तनका कारण विश्वमा देखिने मुख्य सङ्कटमध्ये खानेपानीको सङ्कट पनि एक हुने भन्दै वातावरणविद्हरुको चिन्ता छ । विश्वमा जलवायु परिवर्तनको असर बढिरहेको छ । त्यसको मुख्य असर खानेपानीको क्षेत्रमा पनि पर्ने विज्ञहरुको भनाइ छ । कलान्तरमा भोग्नुपर्ने समस्यासँग कसरी जुध्ने भनेर हामीले आगामी नीति तथा भावी आयोजनामा समावेश गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।

दिगो विकासको लक्ष्यले पनि सन् २०३० सम्ममा सबैको खर्चले धान्न सक्ने लागतमा सबैका लागि समतामूलक रूपमा सुरक्षित खानेपानीे पुर्‍याउने,  सन् २०३० सम्ममा सबैका लागि पर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच हासिल गर्ने र खुला दिसा गर्ने अभ्यासको अन्त्य गर्ने लक्ष्य राखेको छ । महिला, बालिका, किशोरी तथा अन्य सङ्कटासन्न अवस्थामा रहेकाहरुको आवश्यकतालाई विशेष ध्यान दिने, सन् २०३० सम्ममा प्रदूषण कम गरेर, जताततै फोहोर फ्याँक्ने प्रवृत्ति हटाएर, खतरनाक रसायन एवं अन्य सामग्रीको न्यूनीकरण गरेर पानीको गुणस्तर सुधार गर्ने, विश्वव्यापीरुपमा प्रशोधन नगरिएको फोहोर पानीको मात्रालाई आधा गर्ने तथा उल्लेख्य मात्रामा प्रशोधन गर्ने र सुरक्षित रुपमा पुनः प्रयोग गर्ने लक्ष्य छ ।

दिगो विकासको लक्ष्यमा भनिएको छ, “सन् २०३० सम्ममा पानीको अभावलाई सम्बोधन गर्न तथा पानीको अभाव झेलिरहको जनसङ्ख्यालाई उल्लेख्य रूपमा घटाउन सबै क्षेत्रमा पानी उपयोग कुशलता उल्लेख्य मात्रामा वृद्धि गर्ने र स्वच्छ पानीको दिगो निष्कासन तथा आपूर्ति गर्ने लक्ष्य छ ।”

चालु आर्थिक वर्षका मुख्य योजनाहरुमा सबै नागरिकलाई आधारभूत खानेपानीको सेवाको पहुँच पुर्‍याई गुणस्तरीय खानेपानी सेवा विस्तार गर्दै लगिने, ‘एक घर एक धारा’को लक्ष्य प्राप्त गर्ने गरी खानेपानी आयोजना तथा कार्यक्रम सञ्चालन गरिने, आगामी आर्थिक वर्ष आधारभूतस्तरको खानेपानी सेवाबाट ९८ प्रतिशत, उच्च मध्यमस्तरको खानेपानी सेवाबाट ३० प्रतिशत र प्रशोधनसहितको ढल प्रणाली सुविधाबाट ४.५ प्रतिशत जनसङ्ख्या लाभान्वित हुने गरी खानेपानी तथा सरसफाइ कार्यक्रम अघि बढाइने उल्लेख छ । यस्ता काठमाडौँ उपत्यकाको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययनलगायत पूर्वतयारीका कार्य सम्पन्न गरिने पनि कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया