बसमा एकैछिनको चिनजानमा ठगिइन् महिला, बिहे गरी भारत लगेर बेच्ने प्रयास

 चैत ९, २०८० शुक्रबार १६:१२:३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नचिनेको व्यक्तिसँग एकैछिनको चिनजानको भरमा एक महिला ठगिन पुगेकी छन् । काठमाण्डौबाट पोखरा जानेक्रममा बसमा भएको भेटमा ती महिलालाई बिहे गरी भारतमा बेच्ने प्रयास भएको छ । उनी भारत पुगे पनि बेचिनबाट भने जोगिएकी छन् ।

नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला ठगीमा परेकी हुन् । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाण्डौबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह गरेर महिलालाई बिक्रीको प्रयास गरेको पाइएको छ ।

पीडित महिलाको बहिनी बिरामी रहेको अवस्थाको फाइदा उठाएको देखिएको छ । पीडितको ६ लाख रुपैयाँसमेत क्षेत्रीले ठगेका छन् । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रकाअनुसार क्षेत्रीले सुरुमा आफू अविवाहित रहेको, तिमी मलाई मनपर्यो, म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल पुर्याएर बिहे गरी बेचबिखनको प्रयास गरेको पाइएको हो ।

क्षेत्रीले आफन्तबाट सरसापट मागेर पीडितकी बहिनीको उपचारका लागि ७० लाखभन्दा धेरै पैसा जम्मा गरिदिएको छु, त्यो निकाल्न छ लाख लाग्छ भनी पीडितबाट छ लाख लिएर ठगी गरेको पनि पाइएको मिश्रले जानकारी दिनुभयो । मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल लगी आफ्नै साथीलाई डाक्टर देखाई झुक्याएको पनि खुल्न आएको प्रहरीले जनाएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ गरी ठगीमा संलग्न क्षेत्रीलाई अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको मिश्रले जानकारी दिनुभयो ।     

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया