सुरक्षण मुद्रण केन्द्रको भौतिक निर्माणका काम बजेट अभावमा रोकियो

 चैत १०, २०८० शनिबार १३:५:७ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक – पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) को भौतिक निर्माणका काम बजेट अभावले रोकिएको छ । केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे पनि रङरोगन र झ्याल, ढोका हाल्ने काम रोकिएको हो ।

सूचना–प्रविधि (आइटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि त्यही पार्कलाई केही वर्षअघि केन्द्रमा परिणत गरिएको थियो । केन्द्रमा आवश्यक गोदाम घरलगायत पूर्वाधार निर्माण, उपकरण खरिद तथा भएका भवनको मर्मतसम्भारको काम हुँदै आएको थियो । चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएकाले थप भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम रोकिएको केन्द्रका निमित्त कार्यकारी निर्देशक बलराम चौधरीले बताउनुभयो ।

केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमुना छपाइ गरिएको थियो । अहिले जडित दुई मेसिनबाट वार्षिक ६० करोड वटा अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने चौधरीले जानकारी दिनुभयो । गएको आर्थिक वर्षको ७३ करोड रुपैयाँ बजेटबाट मेसिन तथा केही सूचना प्रविधिका सामग्री खरिद गरिएको थियो ।

२०५७ सालमा निर्माण शुरु गरिएको आइटी पार्क २०६१ सालमा सम्पन्न भएपछि सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल दुई सय ५७ रोपनी जमिनमा रहेको पार्कभित्र दुई ठूला व्यापारिक/प्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीयसहित नौ भवन थिए । तत्कालीन समयमा दक्षिण एसियामा नै नमुना र ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया