कालीगण्डकी नदीमा बढेको दोहनले शालिग्राम संरक्षणमा चुनौती

 चैत १२, २०८० सोमबार १५:११:२४ | रासस
unn.prixa.net

रासस

बागलुङ – कालीगण्डकी नदीमा दोहन नरोकिंदा शालिग्राम संरक्षणमा समस्या भएको छ । सर्वोच्च अदालतले दुई वर्षअघि नै नदीजन्य बस्तु निकासीमा रोक लगाएको भए पनि अबैध रुपमा दोहन भइरहेको स्थानीयले बताएका छन् । सर्वोच्चको आदेशपछि बागलुङ नगरपालिकाले नदीजन्य बस्तुको ठेक्का लगाउन छाडेको भए पनि अबैध रुपमा संकलन नरोकिएको हो ।

अहिले पनि रातको समयमा डोजर लगाए दोहन हुँदा कालीगण्डकीले धार परिवर्तन गरेर बस्तीतर्फ जान थालेको स्थानीय बीरबहादुर कुमालले बताउनुभयो । कालीगण्डकीबाट बालुवा निकाल्न रोक लगाएपछि अहिले परिवारको हातमुख जोड्न गाह्रो भइरहेको उहाँले सुनाउनुभयो ।

मजदुर टीकाबहादुर तामाङले पनि आफू सात वर्ष पहिले कास्कीबाट परिवारसहित बागलुङमा आएर कालीमा बालुवा उठाउने काम गरेको सुनाउँदै अहिले सडकमा काम गरिरहेको बताउनुभयो । सडकमा पनि नियमित काम नपाइने भन्दै सरकारले मजदुरका लागि बालुवा उठाउन पाइने व्यवस्था गर्नुपर्ने उहाँको माग छ । सर्वोच्चको आदेश आउनुपूर्व म्याग्दीबाट मोदीवेनीसम्म झण्डै पाँच सय मजदुरले काम गर्ने गरेका उहाँले जानकारी दिनुभयो ।

दोहनका कारण शालिग्राम संरक्षणमा चुनौती बढेको छ । प्रशासनले मजदुरलाई बालुवा चाल्न रोक लगाएको भए पनि रातको समयमा मेसिन प्रयोग गरी चोरी भइरहेको स्थानीयको गुनासो छ । चोरी भइरहेकोले आफूहरुले पनि बालुवा संकलन गर्न पाउनुपर्ने उनीहरुको माग छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन केसीले कालीगण्डकी दोहन गरी बालुवा उठाउने ट्याक्टर नियन्त्रणमा लिएर सम्बन्धित पालिका तथा वडामा पठाउने गरिएको बताउनुभयो । 

शालिग्राम संरक्षणका लागि पनि अवैध बालुवा, गिटी ओसारपसार रोक्नुपर्ने भन्दै प्रहरी प्रशासन यस विषयमा सचेत रहेको उहाँले बताउनुभयो । कसैले अवैधरुपमा काली दोहन भएको देखे वा थाहा पाए प्रहरी तथा सम्बन्धित निकायमा खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया