जुम्लाका किसानले बारुवा पर्वका लागि मार्सी धानकाे बीउ भिजाए

 चैत १३, २०८० मंगलबार ९:२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ  - जुम्लाका किसानले मार्सी धानका लागि बीउ भिजाएका छन् । बर्सेनि चैत १२ का दिन मार्सी धानका लागि बीउ भिजाएर बारुवा पर्वका रुपमा मनाउने गरिन्छ । यो पर्वका दिन महिलाले मांगल गाउँदै चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका र आफ्ना कुलदेवता सम्झेर मार्सी धानको बीउ राख्ने परम्परा छ ।

जुम्लामा मात्र उत्पादन हुने लोकप्रिय धानमध्ये मार्सी खेतीको झण्डै ७ महिने चक्र शुरु भएको छ । कामविशेषले जिल्लाबाहिर वा मजदुरीका लागि भारत पुगेका स्थानियबासिन्दा मार्सी धान खेतीका लागि चैत १२ अघि नै घर पुग्ने गर्छन् । हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ र २० गते ब्याडमा छरिन्छ ।

वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन छ । त्यसपछि बीउ हरियो हुन्छ । यो धान पाक्न ७ महिना लाग्छ । पछिल्ला वर्ष बजारमा मार्सी धानको चामल लोकप्रिय बन्दै गएको छ । समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने मार्सी धानको उत्पादनमा भने रोगकिराको प्रकोप तथा अरु विभिन्न समस्या रहेका जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया