विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीसँग आग्रह

 चैत १३, २०८० मंगलबार १५:३६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा बिस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई आग्रह गरेको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र बितरणतर्फका पूर्वाधार सुधार तथा बिस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गर्नुभयो ।

घिसिङले पर्याप्त,  भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहसँगको विद्युत् व्यापार बिस्तारका लागि उत्पादन, प्रसारण र बितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताउनुभयो । ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र बितरणतर्फका आयोजनाका लागि झण्डै ६० अर्ब अमेरिकी डलर लगानी चाहिने र यसका लागि एआईआईबीजस्ता बहुपक्षीय निकायबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण आवश्यक रहेको घिसिङले बताउनुभयो ।

प्रतिनिधिमण्डले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डले अहिले एआईआईबीको लगानीमा निर्माणाधीन आयोजनाहरुको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषय, ऊर्जा क्षेत्रको पुनर्संरचना, विद्युत निर्यातका लागि बजार सुनिश्चितालगायतका विषयमा जिज्ञासा राखेको थियो । एआईआईबीले अहिले विद्युत् वितरण प्रणाली सुधार तथा बिस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया