चोभार सुक्खा बन्दरगाह : निर्माण भएको दुई वर्षपछि चहलपहल देखिन थाल्यो

 चैत १३, २०८० मंगलबार १६:६:३९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – चोभार सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सय वटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । गाडी बिक्रेता व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ गाडीको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै हुन थालेको छ । यसले गर्दा पनि केही चहलपहल बढेको हो । 

समुद्रसँग सम्पर्क नभएको देश नेपालमा यसअघि बनेका १४ वटा सुक्खा बन्दरगाहमध्ये चोभार बन्दगाह सबैभन्दा कान्छो, अत्याधुनिक र सुविधायुक्त छ । प्रायः सबै बन्दरगाह भारत वा चीनको सीमामा बनेका र अध्यागमनसहितका भए पनि यो भने देशको प्रमुख बजार नजिक र विशुद्ध मालसामान आयात निर्यातसँग मात्र सम्बन्धित छ ।

यतिमात्र नभई बन्दरगाहको एक भागलाई व्यवसायीले आफ्ना सामान भण्डारण गरेर राख्न सक्नेगरी आन्तरिक गोदामका रूपमा सञ्चालन गरिएको छ । साथै सीसीटीभी, सुरक्षाकर्मी तथा कन्टेनरको व्यवस्थापन आधुनिक तबरले गरिएको छ । 

बिगतमा हिमाल सिमेन्ट कारखाना रहेको सुक्खा बन्दरगाहमा पाँच सयवटा कन्टेनर राख्न सकिन्छ । बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलकाअनुसार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउने हो भने देशमा भित्रिएका सामान वा निर्यात गरिने सामान अन्तर्राष्ट्रिय सीमाबाट बन्दरगाहसम्म सोझै आउने स्थिति तयार हुनुपर्छ ।

त्यसैगरी निर्यात गरिने सामान पनि बन्दरगाहको जाँचपछि सोझै देशबाट बाहिरिने अवस्था हुनुपर्छ । द्रुतमार्ग सञ्चालनमा आएपछि अहिले आयात र निर्यातकर्ताले भोग्नुपरिरहेका झन्झटिया प्रक्रिया अन्त्य हुने उहाँको भनाई छ । द्रुतमार्गको निर्माण एकातर्फ भइरहँदा बन्दरगाहको प्रयोगलाई बढाउन निजी क्षेत्रसँग सगकार्य गरेर व्यवसायीमैत्री ढङ्गले चलाउन थालिएको कार्यकारी निर्देशक गजुरेल बताउनुहुन्छ ।

यसका लागि गत वर्षसम्म बन्दरगाहलाई कार्यालय आफैँले व्यवस्थापन गरेकामा यस वर्षदेखि बोलपत्र आह्वान गरेर त्यसको व्यवस्थापन निजी क्षेत्रबाट हुन थालेको छ । ट्रान्स नेपाल टीआरएस लोजीपार्कले बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको छ ।

कम्पनीका प्रतिनिधि हरिश जोशीका अनुसार बन्दगाहको प्रयोगका लागि निजी क्षेत्र क्रमशः उत्साहित बन्दै जान थालेका छन् । वार्षिक तीन करोड रुपैयाँ बुझाउने गरी बन्दगाहको व्यवस्थापन गरिरहेको छ । कार्यकारी निर्देशक गजुरेल यसलाई समृद्धिका लागि निजी क्षेत्रसँग गरिएको वास्तविक हातेमालो भन्न रुचाउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया