लगानी सम्मेलनमा चीनको महत्वपूर्ण सहभागिताका लागि आग्रह

 चैत १४, २०८० बुधबार ८:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा अर्को महिना हुने लगानी सम्मेलनमा चीनको महत्वपूर्ण सहभागिताका लागि आग्रह गर्नुभएको छ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा ९ दिने भ्रमणका क्रममा बेइजिङ पुग्नुभएका परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल पछिल्लो समय लगानीको केन्द्र बन्दै गएको र चीनका  लगानीकर्ताका  लागि  पनि  महत्वपूर्ण  अवसर रहेको बताउनुभयो ।

नेपाली दूतावासमा भएको समारोहलाई सम्बोधन गर्दै उहाँले छिमेकी देश चीनका  लगानीकर्तालाई  विशेष  सुविधा  दिने  व्यवस्था  सरकारले  गरेको  जानकारी गराउनुभयो । तेस्रो लगानी सम्मेलन आउँदो वैशाख १६ र १७ गते काठमाण्डौमा हुँदैछ ।

यसैबीच परराष्ट्रमन्त्री श्रेष्ठ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच हिजो द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भयो । 

साथै नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई छिट्टै सञ्चालनमा ल्याउने समझदारी पनि भएको छ । उहाँहरुबीच नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई छिटो अघि बढाउने तथा यसअघि सचिवस्तरमा रहेको उच्चस्तरीय परामर्श संयन्त्रलाई मन्त्रीस्तरीय बनाउने सहमति भएको छ । 

नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी भएको छ । दुई पक्षबीच नेपालमा कृषि प्रविधि उद्यान निर्माणको प्रक्रिया छिटो अघि बढाउने तथा विकासका योजनाका बारेमा ठोस प्रस्ताव लिएर अघि बढ्ने समझदारी भएको छ ।

भेटमा परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्ता समेत दिनुभएको छ । दोस्रो पटक परराष्ट्रमन्त्रीमा नियुक्त भएलगत्तै मन्त्री श्रेष्ठको यो पहिलो चीन भ्रमण हो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया