नेपाल र जर्मनीबीच श्रम समझदारी : शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने

 असोज २४, २०८० बुधबार ७:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र जर्मनीबीच श्रम समझदारी भएको छ । जर्मनीका नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबीच द्विपक्षीय श्रम समझदारीमा हिजो हस्ताक्षर भएको हो ।

जर्मनीमा भएको औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारी  र  जर्मनी  सरकारको  तर्फबाट  त्यहाँको  मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबीच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । त्यसअघि शुक्रवार युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

श्रम समझदारी  अनुसार  जर्मनीमा  रोमानियामा जसरी श्रम स्वीकृति नभइ अनलाइन प्रणालीबाट आवेदन माग गरेर एकवर्षे प्रशिक्षार्थीका रूपमा जर्मनी जान सक्ने छन् । जर्मनीमा जाने  प्रशिक्षार्थी   श्रमिकले आफ्नो रुचि र क्षमता अनुसार सिप सिकेर पास भएपछि मात्रै सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने समझदारीपत्रमा उल्लेख छ । समझदारी अनुसार जर्मनी जानका लागि विशेष क्षेत्र नतोकिएको र आवश्यकताका आधारमा आवेदन माग गरेर सबै क्षेत्रमा पठाउनलाई खुुला गरिएको छ ।

श्रम  मन्त्रालयका  सहसचिव  राजीव पोखरेलले  जर्मनीको  आन्तरिक  श्रम  कानुनले  श्रमिकलाई दिएको  अधिकार  विश्वमै उदाहरणीय  भएको  र  त्यहाँका  नागरिकसरह  नेपालसहित  आप्रवासी  श्रमिकले  सेवा  सुुविधा  पाउने व्यवस्था रहेको जानकारी दिनुुभयो ।

जर्मनी सरकारसँग भएको श्रम समझदारी अनुसार  सरकारीस्तरबाट  आवेदन  माग  गरेर  पठाइने छ । समझदारीसँगै  जर्मनीमा  नेपाली  श्रमिक  जानका  लागि  बाटो  खुुले  पनि  कार्यान्वयनमा  लैजानका  लागि  केही  तयारी  नेपाल  सरकारको  तर्फबाट गर्नुुपर्ने देखिएको सहसचिव पोखरेलको भनाइ छ ।

जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार अहिले जर्मनीमा झण्डै आठ हजार नेपाली बसोबास गर्दै आएका छन् । तीमध्ये धेरैजसो उच्च शिक्षा अध्ययनका  लागि  पुगेर  पछि  त्यहीँ  काम  गर्न  थालेका छन् । पछिल्लो  समय  युरोपेली  देशमा  नेपालीको  आकर्षण  बढ्दै  गएको  छ।  

 

तपाईको प्रतिक्रिया