कतारका अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता हुँदै : पाँच समझदारीपत्रमा हस्ताक्षर हुने

 बैशाख १२, २०८१ बुधबार ७:२५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ । भेटपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबीच विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य प्राथमिकतामा छ ।

दुई दिने राजकीय भ्रमणको लागि थानी विशेष विमानमार्फत हिजो काठमाण्डौ आउनुभएको हो । विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको थियो । उहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विमानस्थलबाट थानी सीधै शितल निवास पुग्नुभएको थियो ।

शितल निवासमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभयो । कतारसँग २०३३ साल माघमा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भए यता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व) बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा पहिलो पटक उच्च नेपाल भ्रमण हो ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर थानीको सम्मानमा हिजो बेलुका रात्रिभोजको आयोजना गर्नुभयो । रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।

त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो । कतारका राजा आज स्वदेश फर्किने कार्यक्रम छ ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया