८ वर्षसम्म पनि पुल नबनाएपछि कमला पुल निर्माण कार्यबाट पप्पुलाई हटाइयो

 बैशाख ३०, २०७६ सोमबार ८:३०:४७ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं. १ र २ जोडने गरी बन्न लागेकाे कमला नदीको पुल निर्माणको जिम्मेवारीबाट पप्पु कन्ट्रक्सनलाई हटाइएको छ । 

एसियाली विकास बैंकको अनुदान सहयोग करिब ३१ करोड रुपैया लागतमा दुधौली नगरपालिकाको वडा नं २ र ३ जोड्ने गरी कमला नदीमा आठ वर्षअघि पुल निर्माण सुरु गरिएको थियो । ५४२ मिटरको नेपालकै दोस्रो लामो पक्की पुल भनिएको त्यो पुल निर्माणको ठेक्का पप्पु लुम्बिनी जेभिले पाएका थिए ।    

तर काम थालेको आठ वर्ष वितिसक्न लाग्दासमेत पुलको स्पान राख्न बाहेक अन्य काम गर्न नसकेपछि पप्पुलाई हटाइएको हो । आठ वर्षदेखि ठेक्का लिएर पुल निर्माणको काम आधा पनि नगरी अलपत्र अवस्थामा छाडेपछि पप्पुलाई हटाएर लुम्बिनी जेभिले बाँकी कामको जिम्मा लिएको त्यस सडक आयोजनाले जनाएको छ । 

२०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु–लुम्बिनी जेभिले २०६८ असार ३१ गते सम्झौता गरी पुल निर्माण सुरु गरेका थिए । उनीहरुको आन्तरिक सहमति अनुसार पुल निर्माण भने पप्पु कन्ट्रक्सनले एक्लै गर्दै आएको थियो । तर पप्पुले तोकिएको समयमा पुल निर्माण नसकेपछि २०७४ साउन १४ सम्म म्याद थपिएको थियो ।  

सडक आयोजनाका पूर्वी खण्ड प्रमुख ईन्जिनियर ललिजंग खनालका अनुसार लुम्बिनी कन्स्ट्रक्सनले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने जिम्मा लिएर बाँकी काम सुरु गरेको छ । ‘लुम्बिनीले एक वर्षभित्रमा कमला नदीमा निर्माणाधिन पुल सक्छु भनेर प्रतिवद्धता जनाएको छ,’ उहाँले भन्नुभयो, ‘पुराना र खिया लागेका सबै समान हटाएर पुरानै लागतमा उसले काम गर्ने हो ।’

पप्पु कन्ट्रक्सनले पुलको निर्माण लागतमध्ये ५३ प्रतिशत रकम भुक्तानी भने लगि सकेको उहाँले जानकारी दिनुभयो । 

पुल निर्माणको बाँकी काम सक्ने जिम्मा लिएसँगै सामान झारेर कामअघि बढाई सकेको लुम्बिनी कन्ट्रक्सनका शंकर राउतले बताउनुभयो । ‘मिलेर ठेक्का लिएको भएपनि आन्तरिक सहमति अनुसार पप्पुलाई सबै काम गर्न दिएका थियौं,’ उहाँले भन्नुभयो, ‘उसले काम गर्न नसकेपछि कालो सुचिमा पर्ने डरले बाँकी काम गर्ने जिम्मा लिएका हौँ ।’

काम नलाग्ने र खिया लागेको एउटा स्पान भत्काएर काम अघि बढाई सकेको भन्दै उहाँले पुल निर्माण अर्को असारसम्म सकेर बुझाउने लक्ष्य रहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया