विश्वकप क्रिकेट : इंग्ल्याण्डलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

 असार ११, २०७६ बुधबार ६:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले छैटौं जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हरायो ।

जितसँगै अष्ट्रेलिया याे विश्वकपकाे सेमिफाइनल पुग्ने पहिलाे टिम बनेकाे छ ।

लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ८५ रन बनायो । बलियो सुरुवात गरेको उसले पहिलो विकेटका लागि एक सय २३ रनको साझेदारी गरेको थियो । उसका लागि डेविड वार्नरले ५३ रन बनाए । त्यसपछि उस्मान ख्वाजाले २३ तथा स्टिभ स्मिथ ३८ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले शतकीय पारी खेले । उनले एक सय १६ बलमा सय रन बनाए । सुरुवात राम्रो गरे पनि उसका मध्यक्रमका खेलाडीबीच दरिलो साझेदारी हुन सकेन ।

मार्कस स्टोनिस आठ रनमा आउट भए भने प्याट कमिन्सले मात्र एक रन बनाए । अन्तिममा एलेक्स क्यारीले अविजित ३८ रन बनाए । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले दुई तथा जोफ्रा आर्चर, मार्क उड र बेन स्टोक्सले एक-एक विकेट लिए ।

जवाफमा इंग्ल्याण्ड ४४ ओभर ४ बलमा २२१ रनमा अलआउट भयो । निकै खराब सुरुवात गरेको इंग्ल्याण्डले ५३ रनमा चार विकेट गुमायो । उसका ओपनर जेम्स भिन्सले खाता खोल्न सकेनन् भने जोनी बेयरस्टाे २७ रनमा आउट भए । यस्तै जोय रुटले आठ तथा कप्तान ओयन मोर्गन मात्र चार रनमा पेभेलियन फर्किए ।

त्यसपछि बेन स्टोक्स र जस बट्लरबीच पाँचौ विकेटका लागि ७१ रनको साझेदारी हुँदा इंग्ल्याण्ड केही सम्हालिएको थियो । तर बट्लर मात्र २५ रनमा आउट भए ।

त्यसपछि क्रिस ओक्स पनि २६ रनमा पेभेलियन फर्किएपछि उसले एक सय ७७ रनमा ६ विकेट गुमायो । तर त्यसपछि उसले अरु दुई विकेट सस्तैमा समेट्यो । उसका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए भने मोइन अली मात्र ६ रनमा आउट भए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया