पत्रिकाका बम्पर उपहार: घर, किलोका किलो सुन र कार, ५/१० रुपैयाँमा पत्रिका बेचेर कसरी सम्भव छ ?

 भदौ १, २०७६ आइतबार १६:२५:१५ | साजन सुबेदी
unn.prixa.net

काठमाण्डौ – दशैँ, तिहार, नयाँ वर्षजस्ता अवसर पारेर पत्रपत्रिकाहरुले ग्राहक बनेको खण्डमा घर, कार, करोडौँ रुपैयाँ वा किलोका किलो सुन उपहार दिन्छौँ भनेर प्रचार–प्रसार गरेको देख्न पाइन्छ । यसरी उपहारको अफर गर्नेमा साना र कम नाम चलेका भन्दा ठूला मिडियाले चलाएका पत्रपत्रिकाहरु नै बढी पर्दछन् ।

एउटा पत्रिकाले एकखाले उपहार राखेर सुरु गरेपछि अर्को पत्रिकाले त्यो भन्दा आकर्षक उपहार राखेर प्रचार–प्रसार सुरु गर्छन् ।       

पाठकहरु पनि आवश्यकता नभए पनि उपहार पर्छ कि भनेर पत्रपत्रिकाका नयाँ नयाँ ग्राहक बन्ने गर्दछन् । यस्तो क्रम लगभग प्रत्येक वर्षजस्तो चल्दछ । केही समय ग्राहक बनाउने प्रक्रिया चलेपछि तोकेकै समयमा उपहार खोलिन्छ र सार्वजनिक हिसाबले नै उपहार प्रदान गरिन्छ । 

यसरी ग्राहक बन्दा एकपटक पैसा तिरेपछि वर्षभरी पत्रिका आउने पक्का हुन्छ । त्यसमाथि हात खाली नजाने उपहारदेखि बम्पर उपहार पनि पाइने भएकाले नयाँ ग्राहक बन्ने वा नवीकरण गर्ने समूह बाक्लै देखिन्छ ।

नतिजा कत्तिको पारदर्शी ?

उपहार खोलेको नदेखाइ विजेता घोषणा गर्दा पारदर्शी नभएको वा नम्बर नै नभएको वा बिक्री नभएको रसिदलाई पारेको भन्ने गुनासो पनि बेलाबेला सुनिने गर्दछन् ।

यस्तो उपहार कार्यक्रममा धाँधली हुन्छ, आफ्नै मान्छेलाई पार्छन् भन्ने गुनासो आउने गरेकाले हिजोआज टेलिभिजनको प्रत्यक्ष प्रसारणमा वा थुप्रै कलाकार वा विशिष्ट व्यक्तिहरु बोलाएर सबैका अगाडि विजेता घोषणा गर्ने चलन पनि बढेको छ ।  
यसरी उनीहरुले राखेको बम्पर उपहारमा पाइने सुन, घर, गाडी वा रकम लाखौँ रकम बराबरको हुने गर्दछन् । उपहार पर्छ र बाँड्छन् पनि । तर कसरी सम्भव छ ?

कहाँबाट आउँछ त्यत्रो रकम? 

सामान्यतया कुनै पनि दैनिक पत्रिकाको लागत बजारमा बेच्ने मूल्यभन्दा बढी पर्दछ । बजारमा १० रुपैयाँमा पाइने एउटा पत्रिका छापिएर तयार हुन १० रुपैयाँभन्दा बढी पर्छ । सामान्य हिसाबले हेर्दा पत्रपत्रिका घाटा खाएर बिक्री भइरहेका हुन्छन् । घाटाको व्यापार अनि लाखौँको उपहार ? कसरी सम्भव हुन्छ त ?
यहाँनेर प्रश्न उठ्छ, बजार मूल्य बराबरकै पैसा उठाएर कुनै पनि अखबारले लाखौँ रुपैयाँ उपहार कसरी दिन सक्छ ? कतै झुक्याउने खेल मात्र त होइन ? या कुनै दोस्रो धन्दा त छैन ?

नाम नबताउने शर्तमा एक नाम चलेको सञ्चारगृहका मार्केटिङ म्यानेजर भन्छन्, ‘पत्रिकाले ग्राहक अभियानका लागि राम्रै रकम छुट्याउनुपर्छ । उपहारमा दिइने गाडी वा घरवालाले त्यसको मूल्य बराबरको विज्ञापन (माइलेज) पाउने हिसाबले प्रदान गर्छन् भने कुनैले केही प्रतिशत रकम लिने र बाँकी विज्ञापनमार्फत मिलाउने गरी सम्झौता गर्छन् । कुनै कुनै सामान भने पत्रपत्रिकाले ग्राहक बनाउने अभियानका लागि छुट्याइएको रकमबाट किनेर प्रदान गर्छन् ।’

मानौँ एउटा पत्रिकाले ग्राहक अभियानका लागि एक करोड छुट्याएको छ । तीन महिना, ६ महिना जति त्यो अभियान चल्छ त्यतिन्जेलका लागि विज्ञापन, अभियानमा काम गर्नेहरुको पारिश्रमिकलगायतको खर्च कटाउँदा पनि लगभग एउटा गाडी आफैँले किनेर पनि उपहार दिन सक्छन् ।

त्यति नभए, माथि भनिएझैँ केही रकम तिरेर र बाँकी रकम विज्ञापनमा मिलाउने गरेर पनि गर्न सकिन्छ । यसमा पत्रिकावाला र सम्बन्धित घर, गाडी कम्पनीबीच आपसी फाइदा (म्युचुअल बेनिफिट)का आधारमा सम्झौता हुन्छ । 

तीनै पक्ष फाइदामा

यस प्रक्रियामा पत्रिका, घर वा गाडी बेच्ने कम्पनी र ग्राहक सबै फाइदामा हुन्छन् । 

-पत्रिकाको ब्राण्ड प्रवर्द्धन हुनुका साथै ग्राहक संख्या बढ्छ ।

-घर, गाडी वा सुन बेच्ने कम्पनी/पसलको पत्रिकाको ग्राहक अभियान चलुन्जेल पत्रिकालगायत होडिर्ङ बोर्ड तथा अन्य माध्यममा लगातार विज्ञापन तथा प्रचार–प्रसार हुन्छ ।

-ग्राहकले एक पटक वर्षभरिको पैसा तिरेपछि हरेक दिन पत्रिका आउने पक्का त हुन्छ नै, त्यसबाहेक तिरेको रकमको ५० प्रतिशतभन्दा बढी रकम बराबरको विभिन्न हात खाली नजानेलगायतका उपहारहरु पाउँछन् । साप्ताहिक, मासिक र बम्पर उपहारको लागि सम्भावना उत्तिकै रहन्छ । 

सञ्चारमाध्यमको कमाइको मुख्य स्रोत विज्ञापन

सामान्यतया सञ्चारमाध्यम (रेडियाे, टेलिभिजन तथा पत्रपत्रिका) को कमाइको मुख्य स्रोत विज्ञापन हो । पत्रपत्रिकाले विभिन्न पृष्ठमा छाप्ने विज्ञापनले ओगटेको क्षेत्रका आधारमा (वर्गीकृत विज्ञापनबाहेक) नापेर रकम लिने गर्दछन् । पत्रपत्रिकाको पृष्ठमा ओगटिने ठाउँको एकाइलाई सीसी आर्थात कोलम सेन्टिमिटर भनिन्छ । 

कसरी नापिन्छ सीसी ?

सीसीको अर्थ कोलम सेन्टिमिटर हो । कोलमले चौडाइ तथा सेन्टिमिटरले उचाइको प्रतिनिधित्व गर्दछ ।

सामान्य ब्रोडशीट पत्रिकाको एउटा पृष्ठमा ८ कोलमको चौडाइ तथा र ५० सेन्टिमिटर हुने गर्दछ । यसरी हेर्दा ब्रोडशीट पत्रिकाको एउटा पृष्ठको साइज ८ x ५० अर्थात् ४०० सीसी हुन आउँछ । पत्रिकामा छापिने समाचार तथा विज्ञापनहरु यही ४०० सीसीको क्षेत्रभित्र छापिने गर्दछन् । पृष्ठ अनुसार वा रंगका आधारमा दर फरक हुन सक्छ भने वर्गीकृत विज्ञापनकाे दर रेट अलग हुन्छ ।

सामान्यतया पहिलो र अन्तिम पृष्ठमा छापिने विज्ञापनको दर भित्रका अन्य पृष्ठको भन्दा बढी हुन्छ । पत्रिकामा तेस्रो पृष्ठलाई विशेष मानिने हुनाले कतिपय पत्रिकाले तेस्रो पृष्ठका छापिने विज्ञापनको दर अन्यभन्दा अलि महँगो पनि राख्न सक्छन् ।
त्यसैगरी श्यामश्वेतभन्दा रंगीन विज्ञापनको दर महंगो पर्छ । 

कुनैकुनै पत्रिकाले कुनै बार विशेष पृष्ठ निकाल्दा ती पृष्ठमा पनि मूल्य वा दर फरक राख्न सक्छन् ।

के हो तेस्रो पृष्ठको विशेषता ?

सामान्यतया पत्रिका हातमा लिएर पहिलो पृष्ठमा मुख्य समाचारहरु हेरिसकेपछि पहिलोपल्ट पाना पल्टाउँदा आउने पृष्ठ तेस्रो पृष्ठ हो । यसरी पल्टाउँदा तेस्रो पृष्ठको दायाँ भागमा पाठकको आँखा पर्ने भएकाले विज्ञापनदाताले आफ्नो विज्ञापन तेस्रो पृष्ठको दायाँ भागमा प्रकाशित होस् भन्ने चाहना पनि राख्दछन् । 

विज्ञापनदाताले आफ्नो बजेटअनुसार कुन पत्रिकामा, कुन पृष्ठमा र कस्तो प्रकारको विज्ञापन दिने भन्ने निक्र्योल गर्दछन् ।

यसरी पत्रिकामा विज्ञापन छाप्नका लागि प्रत्येक पत्रिकाले आफ्नै दरभाउ तोकेका हुन्छन् । यसरी तोकिने दरभाउको आधार भनेको पत्रपत्रिकाको ख्याति र बिक्री हुने संख्या हो । पत्रपत्रिकाको ख्याति र बिक्री हुने संख्याका आधारमा प्रति सीसी मूल्य तोकिन्छ र विज्ञापनले ओगट्ने ठाउँको सीसी हिसाब गरेर प्रतिसीसी रकमले गुणा गरेपछि विज्ञापनमा लाग्ने रकम निस्किन्छ । त्यसमा करलगायतका कुराहरु आवश्यकता अनुसार जोडिन्छन् ।

यसरी प्रत्येक दिन पत्रपत्रिकाले विज्ञापनमार्फत लाखौँ रुपैयाँ कमाउँछन् । जसबाट पत्रिका छाप्दाको लागतमा आइपरेको घाटा पूर्तिदेखि कर्मचारीलाई तलब दिने साथै सामाजिक उत्तरदायित्वका कामहरुसमेत गर्ने गर्दछन् ।

विज्ञापनको दर र ग्राहक संख्याबीचको सम्बन्ध 

सामान्य हिसाबले हेर्दा यी दुईबीच सम्बन्ध छ जस्तो लाग्दैन । तर वास्तविकतामा भने कुनै पनि पत्रपत्रिकाको नियमित ग्राहक कति छन् भन्ने कुराले त्यसको ख्याति कत्तिको छ भन्ने देखाउँछ ।

जुनसुकै पत्रिका धेरै प्रति नियमित रुपमा बिक्री हुन्छ वा त्यसका नियमित ग्राहक छन् भने त्यो पत्रिकाको पहुँच अन्य पत्रिकाको तुलनामा धेरै ग्राहक वा पाठकसम्म छ भन्ने बुझाउँछ ।

कुनैपनि विज्ञापनदाताले आफ्नो विज्ञापन सकेसम्म धेरै पाठक वा लक्षित वर्गसम्म एकैपटक पुगोस् भन्ने चाहन्छ । जति धेरै पाठक वा लक्षित वर्गसम्म विज्ञापनको पहुँच हुन्छ त्यति नै त्यस विज्ञापनले प्रचार–प्रसार गर्न खोजेको वा सूचना दिन चाहेको वस्तु वा सेवाको प्रचार बढी वा प्रभावकारी हुन्छ । यही उद्देश्यले विज्ञापनदाताले नाम चलेका र धेरै ग्राहक भएका पत्रपत्रिका छान्ने गर्छन् ।

विज्ञापनदाताको रोजाइमा पर्ने यस्ता पत्रिकाले पनि आफ्ना ग्राहक संख्या र ख्यातिका आधारमा प्रति सीसी विज्ञापन दर वृद्धि गर्ने गर्छन् । त्यसैले निश्चित समयसम्म घर, सुन, गाडी वा रकम उपहार दिनेगरी प्रचार गरेर केही हजार नयाँ ग्राहक थप्नसके प्रति सीसी विज्ञापनको दर बढाउन सकिन्छ । 

एक एकाइमा केही सय मात्र दर बढे पनि पत्रिकाको आम्दानीमा लाखौँ रुपैयाँको वृद्धि हुने गर्दछ ।

त्यसैले एउटा निश्चित समयसम्म ग्राहक संख्या बढाउनका लागि गरिने घर, सुन, गाडी वा रकम उपहारको आकर्षण र ती तोकिएका सामान किन्ने रकमसमेत विज्ञापनबाट उठिसकेको हुन्छ भने वृद्धि भएको दरले पत्रपत्रिकाको आम्दानी अझै मजबुत हुन्छ । यसबाट ग्राहकलाई पनि फाइदा, पत्रपत्रिकालाई पनि फाइदा ।

ग्राहकले एकपटक तिरेको पैसाले हात खाली नजाने उपहारसहित हप्ते, महिने तथा बम्पर उपहारमा सहभागी हुन सक्छन् । वर्षभरी पत्रिका त आउने भइहाल्यो ।
यसरी कसैलाई नठगी र सबै पक्षलाई फाइदा हुने हिसाबले यस्ता उपहार कार्यक्रमहरु सञ्चालनमा ल्याइन्छन् । 

अन्तिम अपडेट: असोज ४, २०७६

साजन सुबेदी

 प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Hari Raj Adhikari

    Aug. 18, 2019, 9:13 p.m.

    मैले जुनकुरा बुझ्न मन लागेथ्यो, त्यो पाए। सन्तुष्ट भए, धन्यवाद प्रस्तोता महोदय।

  •  0 Reply

तपाईको प्रतिक्रिया