नगरपालिकाको भवन बनाउने विषयमा विवाद हुँदा २ जना प्रहरीसहित ७ जना घाइते

 असार ३०, २०७५ शनिबार १९:५०:५२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बुंगल नगरपालिकाको भवन कहाँ बनाउने भन्ने विषयमा विवाद हुँदा ५ जना स्थानीयसहित २ जना प्रहरी घाइते भएका छन् ।

नगरपालिकाको भवन निर्माणको विवादमा झडप हुँदा प्रहरी निरीक्षक जनक धामी र प्रहरी सहायक निरीक्षक गंगा बोहरासहित पाँच जना घाइते भएका हुन् । यस्तै स्थानीय बुंगल नगरपालिकाका दीपकराज जोशी, सुरेश भण्डारी, विष्णु कुँवर, वडा नम्बर ५ का निर्वाचित सदस्य केशव नाथ,  र धनराज जोशी झडपमा घाइते भएको स्थानीय जयबहादुर कुँवरले बताउनुभयो ।

नगरपालिकाको परिषद्ले वडा नम्बर ५ मा नगरपालिकाको भवन बनाउने भन्ने निर्णय सर्वसम्मत गरे पनि यहाँका स्थानीयहरुले अहिलेको वडा नम्बर ४ को विजगडामा नै भवन हुनुपर्ने भन्दै नारा जुलुुसहित ढुङ्गाम्डा गरेको उहाँको भनाई छ । जनप्रतिनिधिहरुले मनोमानी ढंगले निर्णय गरेको भन्दै आन्दोलन गर्नु परेको उनीहरुको भनाई छ ।

नगरपरिषद्ले गरेको निर्णय समेत यहाँका स्थानीयहरुले च्यातीदिएका छन् । स्थानीयले जनप्रतिनिधिहरुलाई करिब २ घण्टासम्म चर्पीमा थुनेका थिए । जुत्ता, चप्पलको माला र कालो मोसो दल्ने तयारीमा रहेका स्थानीयहरुलाई रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपमा स्थानीय सुरेश भण्डारीलाई गम्भिर चोट लागेको छ भने वडा नम्बर ५ का निर्वाचित सदस्य केशव नाथको हातमा चोट लागेको बताइएको छ । घटनापछि प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकसहितको टोली घटनास्थलतर्फ खटिएको छ । 

शुक्रबार बुंगल नगरपालिकाको बसेको परिषद्को निर्णय अनुसार नगरपालिकाको भवन वा नम्बर ५ को हाट भन्ने ठाँउमा  बनाउने भन्ने निर्णय सार्वजनिक गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।

केही स्थानीयबासीले झापामा केन्द्र सार्नु पर्ने माग गरी रहेका र केही स्थानीयले बिजगडामा नै यथावत हुनुपर्ने भन्दै आएको भए पनि शनिबार दिउँसो नगरपालिकाको नगरसभाबाट बिजगडा र झापाको बीचमा रहेको हाटकोटमा भवन सार्ने सार्वसम्मत निर्णय गरेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया