एन्फालाई एएफसीले लगायो १० हजार डलर जरिबाना, गल्ती दोहोर्‍याए २ वर्ष प्रतिबन्धको चेतावनी

 कात्तिक ८, २०७६ शुक्रबार १४:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गलत तरिकाले क्लबहरुलाई लाइसेन्स वितरण गरेको भन्दै एसियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १० हजार अमेरिकी डलर जरिबाना गरेको छ ।

एएफसीको केन्द्रीय कार्यालयमा बसेको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजार डलर अर्थात झण्डै ११ लाख रूपैयाँ जरिबाना लगाएको हो ।नियमविपरीत  क्लब लाइसेन्स बाँडेको भेटिएपछि एन्फालाई कारबाही गरिएको एएफसीले जनाएकाे छ ।

फिफा र एएफसीले सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाइसेन्सिङ प्रणाली लागु गर्न निर्देशन दिएको थियो । जसमा क्लबहरूको आफ्नो प्रशिक्षण मैदान, एकेडेमीलगायतका शर्तहरू राखेको थियो । तर नेपालमा कुनै पनि क्लबसँग यो नभए पनि एन्फाले क्लब लाइसेन्स ९ वटालाई दिएको थियो ।

क्लब लाइसेन्स दिएका तीन क्लबका बारेमा एएफसीले बुझेको थियो । जसमा नियमविपरीत देखिएको थियो । जाँचको क्रममा तीन क्लबलाई न्यूनतम शर्तसमेत पूरा नगरी लाइसेन्स सिफारिस गरेको भेटिएको थियो ।

यदि यो गल्ती फेरि एन्फालाई दोहोर्‍याएमा  दुई वर्षको प्रतिबन्धसहित ३५ हजार डलरभन्दा बढी जरिबाना गर्ने चेतावनी पनि दिएको छ ।

यो विषयमा एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘फाइन लगाएको भन्ने आएको छ, यस विषयमा क्लब लाइसेन्टस कमिटीसँग आपतकालीन बैठक बसेर कुरा गर्न लागेका छौँ ।’ उनले के भएको त्यसको सत्यथत्य पत्ता लाग्ने पनि धारणा राखे । एएफसीको इमेल हेर्न बाँकी रहेको र विस्तृत विवरण अहिले थाहा नभएको बताए ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया