गुल्मीमा उपचुनाव : नेकपाले उम्मेदवारकाे टुंगाे लगायाे

 कात्तिक १५, २०७६ शुक्रबार ११:४३:५४ | रासस
unn.prixa.net

गुल्मी – आउँदो मंसिर १४ गते हुने उपचुनावमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुंगाे लगाएको छ । 

गुल्मीको रुरु गाउँपालिका ६ को रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिनुभयो । 

सिञ्जाली त्यही  वडाका वडा सदस्य हुनुहुन्छ । उहाँलाई वडा सदस्य पदबाट राजीनामा गराइ वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिनुभयो । 

नेपाली काङ्ग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताउनुभयो ।

तर पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उहाँको भनाइ थियो । रुरु गाउँपालिकामा पालिकाहरुको निर्वाचनमा काङ्ग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल रहेको थियो । तर पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जित हासिल गरेको थियो । 

वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साल साउन १३ गते निधन भएको थियो । उहाँले ६२८ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याउनुभएको थियो ।

२०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनअनुसार ६ नम्बर वडामा जम्मा एक हजार नौ सय ६७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

गुल्मीदरबार गाउँपालिका ७ का वडा सदस्य थम्मनबहादुर बस्नेतको पनि २०७४ साल भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, पालिकाको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधि सभा सदस्यबाहेक अन्य सदस्यहरुको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया