पच्चीस/पच्चीसको मोडेलमा उठ्दैछ पिलाछेँ

 कात्तिक २९, २०७६ शुक्रबार १२:५४:२१ | मदन पौड्याल
unn.prixa.net

ललितपुर – ललितपुरको पिलाछेँका न्हुँछेलाल महर्जनले घरको जग बसालिसक्नुभएको छ । आफ्नो घर सरकारले बनाइदेला भन्ने उहाँलाई आश पनि छैन । भूकम्पमा उहाँको मात्र होइन छिमेकीहरुको पनि घर भत्कियो । महर्जनको घर जोडिएका छिमेकीको घर बनिसक्यो । अरु वरपरका छिमेकी पनि घर बनाउन व्यस्त छन् । पुनर्निर्माणको काम भैरहेकाले चोक तथा भित्री गल्ली निर्माण सामग्रीले भरिएका छन् । बिहानदेखि बेलुका अबेरसम्म स्थानीयबासिन्दा पुनर्निर्माणको काममा तल्लीन छन् ।

युवादेखि जेष्ठ नागरिक पनि आफूले सक्ने काम गरिरहेका छन् । महिलाहरु पनि काममा खटिएका छन् । ७५ वर्षका महर्जन पनि उनीहरु सँगसँगै काममा खट्नुभएको छ । ‘युवाले जस्तो भारी काम त गर्न सक्दिनँ, अरुले गरेको कामलाई हेरेर मिले नमिलेको भने सक्छु’ काम हुँदै गरेको ठाउँमा भेटिएका महर्जनले भन्नुभयो ।

भूकम्पपछि गठन भएको पिलाछेँ पुनर्निर्माण तथा पर्यटन परियोजनाबाट पुनर्निर्माणको काम भैरहेको छ । पिलाछेँमा सुरुमा पुनर्निर्माण समिति गठन गरी टोलभित्र घर भत्केका तथा आशिंक क्षति भएका बासिन्दालाई जागरुक बनाउने काम भयो । त्यसपछि घरको साँध र कित्ता छुट्याउने, घरधनीलाई सहमतिमा ल्याउने तथा क्षेत्र निर्धारण गरी पुनर्निर्माणका बाँकी काम थालिएको परियोजनाले जनाएको छ ।

पुनर्निर्माणमा पिलाछेँ मोडल

ललितपुरको भित्री बस्ती पिलाछेँ नमूना शहरका रुपमा पुनर्निर्माण भैरहेको छ । पिलाछेँ पाटन दरबार क्षेत्रबाट डेढ किलोमिटर उत्तरपूर्वमा पर्छ । भूकम्पमा परी यहाँ तीन जनाले ज्यान गुमाएका थिए । एक सय १० घरमध्ये ८६ वटा घर पूर्ण क्षति भए । २०७२ माघमा पिलाछेँ पुनर्निर्माण परियोजना बनाएर काम सुरु भएको हो । पिलाछेँमा भूकम्पले क्षति गरेका घरहरु अहिले बनिरहेका छन् ।

पिलाछेँ बस्ती पुनर्निर्माणका लागि घरधनी, स्थानीयबासिन्दा, सहयोगी संघसंस्था र बैंक तथा वित्तीय संस्थालाई एकसाथ जोडिएको छ । एउटा घर बन्दा लाग्ने कुल लागतको २५ प्रतिशत घरधनीबाट, २५ प्रतिशत आफ्नै श्रमदान, २५ प्रतिशत सहयोगी संस्था र बाँकी २५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर काम भैरहेको पिलाछेँ पुनर्निर्माण तथा पर्यटन परियोजनाका अध्यक्ष रमेश महर्जनले बताउनुभयो ।

उहाँका अनुसार पिलाछेँमा २५/२५ को मोडलअनुसार एकले अर्कालाई सक्दो सहयोग गरेर पुनर्निर्माणको काम भैरहेको छ । घर बनाउने बेला एक अर्कालाई सहयोग गर्ने परम्परालाई पनि आत्मसाथ गरिएकाले सिकर्मी÷डकर्मीलाई ज्यालासमेत दिन नपर्नेगरी काम भैरहेको अध्यक्ष महर्जनले बताउनुभयो ।

आधुनिक र परम्परागत सीपको संयोजन

पिलाछेँ लिच्छविकालदेखि चल्दै आएका परम्परा, वास्तुकला, रहनसहन र चाडपर्वका लागि परिचित छ । पुरातात्विक महत्वका विभिन्न संरचना छन् । पिलाछेँमा परियोजनाले लागू गरेको मोडलअनुसार घर तथा संरचना पुनर्निर्माणमा आधुनिक र परम्परागत सीपको संयोजन गरिएको छ ।

नयाँ बन्ने घरमा स्टिलको झ्याल ढोका, सटर, रेलिङलगायत आधुनिक सामग्रीको प्रयोग भएको छैन । अहिलेसम्म ४० वटा घर बनिसकेको परियोजनाले जनाएको छ । यी घरहरुको भित्री भागमा भने आधुनिक प्रविधि तथा सामग्री प्रयोग भएको छ । तर बाहिरी स्वरुप मौलिक र परम्परागत ढाँचाकै छन् । अरु ४६ वटा घर बन्ने चरणमै छन् । बस्तीको बीचैमा रहेको तीनतले मन्दिर भूकम्पले पूरै भत्किएको थियो । अहिले मन्दिर पनि पुरानै स्वरुपमा पुनर्निर्माण भैसकेको छ ।

पिलाछेँ बस्तीमा रहेको भजन फल्चा र गुठी घर निर्माण भैसकेकाले सामाजिक तथा सांस्कृतिक कार्यहरुले निरन्तरता पाउन थालेका छन् । संस्कृतिविद् सत्यमोहन जोशी पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाका संरक्षक हुनुहुन्छ । त्यस्तै डाक्टर सन्दुक रुइतलेसमेत पिलाछेँ बस्ती पुनर्निर्माणमा सहयोग गर्नुभएको छ ।

पुनर्निर्माणपछि आयआर्जन

पिलाछेँका बासिन्दाले घरको पुनर्निर्माण मात्र गरेका छैनन् । परियोजनाको उद्देश्य पनि भत्केका घरहरु बनाउन मात्र केन्द्रित छैन । भूकम्पपछि बनेका घरले परम्परागत शैलीलाई कायमै राखेका छन् भने ती घरहरुलाई आयआर्जनको माध्यम बनाउने प्रयास गरिएको छ । अहिले बनेका घरहरुमा होमस्टेको अवधारणा जोडिएको छ । ललितपुरको भ्रमण तथा अवलोकनमा आउने पर्यटकलाई पिलाछेँमा लैजाने र बसाल्ने योजना रहेको अध्यक्ष महर्जनले सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘पर्यटकीय गतिविधि बढाउने र स्थानीयको आयस्रोत बढाउने लक्ष्य राखिएको छ, त्यसैअनुसार घर बनिसकेका घरधनीले आम्दानी समेत लिन थालेका छन् ।’ अरु विभिन्न व्यवसायिक गतिविधिसमेत बढेका छन् । पिलाछेँको पुनर्निर्माण पुरानो मौलिकता जोगाउन र आयआर्जन बढाउनसमेत केन्द्रित छ ।

यी हुन् सरकारले बनाउन खोजेका सम्पदा बस्ती

सरकारले विभिन्न ६ वटा मुख्य सम्पदा बस्तीलाई मौलिक संरक्षण सहित विकास गर्दैछ । ललितपुरको खोकना र बुङमती, काठमाण्डौको साँखु, नुवाकोट दरबार क्षेत्र, गोरखा दरबार तथा दोलखाको दोलखा बजार वरिपरिका बस्ती सम्पदा बस्ती हुन् । सरकारले यी बस्ती विकासका लागि गुरुयोजनाको काम गरिरहेको छ । तर सम्पदा बस्तीमा देखिएका समस्याले सरकारले काम अघि बढाउन सकेको छैन ।

यस्ता छन् समस्या :

पिलाछेँमा सम्पदा बस्तीको विकास हुँदै गर्दा केही समस्या पनि देखिएका छन् । सुरुमा मतऐक्यता नै जुटाउन गाह्रो भएको अध्यक्ष महर्जन बताउनुहन्छ । जसोतसो बस्तीको मौलिकपन कायमै राख्न सहमत भएका बासिन्दा अहिले खर्चिलो हुने भएपछि अब के गर्ने अलमलमा परेका छन् ।
 
‘पुस्तौँदेखिको मौलिकपन र परम्परा कायमै राख्ने मन त छ, तर झण्डै ५० देखि ६० लाख रुपैयाँ खर्च लाग्ने भयो, खर्चको आधा ३० लाख रुपैयाँ जुटाउनै हम्मेहम्मे छ’ घर बनाउँदै गरेका न्हुँछेलाल महर्जनले भन्नुभयो ।

सरकारले सम्पदाबस्तीमा सहुलियत दरमा काठ र इँटा उपलब्ध गराउने भनेको छ । तर सम्पदाबस्तीका नागरिकलाई आवश्यकता अनुसार काठ र इँटा उपलब्ध छैन । पिलाछेँ परियोजनाका अध्यक्ष रमेश महर्जन भन्नुहुन्छ, सरकारले गरेका निर्णय कुरा र कागजमै सीमित भएका छन् ।’

त्यस्तै मौलिक शैलीलाई जस्ताको तस्तै उतार्न दक्ष कालिगढको अभाव हुने गरेको छ । स्थानीयबासिन्दा पनि घर बलियो हुन्छ भने आधुनिक निर्माण सामग्री तथा सटर, रेलिङ, सिसालाई जोड्न चाहन्छन् । उनीहरुमा बलियोपनाको बुझाइमा समस्या रहेको महर्जनको भनाइ छ । सम्पदा बस्तीमा मौलिकपन बिग्रने गरी आधुनिक निर्माण सामग्री प्रयोग गर्न पाईंदैन ।

पिलाछेँ बस्ती एउटा नमूना

सम्पदा बस्तीका रुपमा बन्दै गरेको पिलाछेँ बस्ती एउटा नमुना बस्ती हो । भूकम्प लगत्तै माघ २ गते सुरु भएको बस्ती पुनर्निर्माणको काम परियोजनाले तोकेको समयअवधि साढे दुई वर्षमा सम्पन्न हुन सकेन ।

बस्तीमा पुरै ८६ वटा घर मौलिक शैलीमा बनिसकेका छैनन् । ‘गएको असारमा काम सक्ने लक्ष्य थियो तर सकिएन’ अध्यक्ष महर्जनले भन्नुभयो, ‘तोकिएको समय अवधिभित्र काम नसके पनि विस्तारै काम सक्ने योजना छ ।’ पिलाछेँ पुनर्निर्माण परियोजना, स्थानीयबासिन्दाको सक्रियता र सरकारले सहयोग गर्न सके मात्र बस्तीको विकास हुने विज्ञ तथा इञ्जिनियर किशोर थापा बताउनुहुन्छ ।

तर सरकारले सम्पदा बस्तीलाई थप ५० हजार रुपैयाँ मात्रै अनुदान सहयोग दिन्छ । यो पर्याप्त नहुने प्राधिकरणको निर्देशक समितिका सदस्यसमेत रहेका थापाको बुझाइ छ । उहाँ भन्नुहुन्छ, ‘सरकारले कसैलाई काखा र कसैलाई पाखा गरी चाहिने जति रकम पनि दिन सक्दैन ।’

पिलाछेँका ८६ वटै घर परियोजनाले तयार पारेको गुरुयोजना अनुसार नै पुनर्निर्माण सम्पन्न हुनसके यसको २५/२५ मोडलको सिको अरु सम्पदा बस्तीमा पनि गर्न सकिने थापाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘पिलाछेँ बस्ती पुनर्निर्माणले ललितपुरलाई मात्रै नभएर अरु सम्पदा बस्तीलाई समेत सकारात्मक सन्देश दिएको छ ।’

अन्तिम अपडेट: मंसिर ९, २०७६

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया