राष्ट्रपति भण्डारीद्वारा अयाेध्याबाट आएका जन्तीकाे स्वागत

 मंसिर १३, २०७६ शुक्रबार १८:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – राम र जानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट जनकपुरधाम आएका साधु सन्तसहितको जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । 

बिहीबार जनकपुरधामको रंगभूमि मैदान बाह्र बिघामा आयोजित विशेष कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले जन्तीको नेतृत्व गर्दै भारतको अयोध्याबाट आएका व्यक्तिहरुलाई दोसल्ला ओढाइ फूलमाला लगाएर सम्मान गर्नुभएको हो । 

राष्ट्रपति भण्डारीलाई पनि जनकपुरधाम उपमहानगरपालिका र विवाह पञ्चमी महोत्सव आयोजक समितिले चाँदीजडित प्रतिमा र दोसल्ला ओढाएर सम्मान गरेको थियो । 

यसअघि राष्ट्रपति भण्डारीले राम र जानकी (दुलहा र दुलही स्वरुप) को भूमिकामा रहेका किशोर किशोरीलाई टिका लगाउँदै फूलमालाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा मिथिला नाट्यकला परिषद्ले श्री राम जानकी विवाहको प्रसंगमा फूलबारी लीला र विवाह कार्यक्रमसहितका गीतिलयको नाटक मञ्चन गरेको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राम र जानकीको वैवाहिक सम्बन्धले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै रहेको र यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । मन्त्री भट्टराईले जनकपुरको पर्यटकीय विकासका लागि जनकपुरबाट पोखरा, मुक्तिनाथ लगायतका धार्मिकस्थलको हवाई उडान गर्न नेपाल सरकार लागिपरेको छ भन्नुभयो । 

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सदियौँदेखिको नेपाल–भारत सम्बन्धलाई निरन्तरता दिन नेपाल सरकार लागेको बताउनु भयो । साथै उहाँले तराई, मधेशको समृद्धिको लागि प्रधानमन्त्री ओलीले विकास कार्यक्रमको सुरुवात गरेको र यो वर्ष बजेट पनि बढाइएको बताउनुभयो । 

त्यस्तै कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल लगायतले पनि नेपाल–भारत सम्बन्धबारे चर्चा गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया