डाेटीकाे बडीकेदार : नेपालसहित भारतीय दर्शनार्थीकाे पनि आस्थाकाे केन्द्र

 पुस २, २०७६ बुधबार १७:५३:३४ | विमल बिष्ट
unn.prixa.net

डोटी – अपी र सैपालका सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । भारतको उत्तर प्रदेशका समथर फाँट देखिने अग्लो लेकाली क्षेत्र । फाँट र चुचुरा नियाल्दा संसारै बिर्सेको भान हुने त्यो ठाउँ हो, बडीकेदार । 

अटुट श्रद्धा र मनोकामना बोकेर बर्सेनि भारत र तराईका जिल्लाबाट तीर्थालु बडीकेदार मेला पुग्छन् । बडीकेदार गाउँपालिका-५ मा रहेको बडीकेदारमा फागुनमा महाशिवरात्री र कात्तिकको बैकुण्ठ चतुर्दशीमा हजारौँ तीर्थालुको भिड लाग्छ । 

‘महाशिवरात्रीभन्दा कात्तिकको बैकुण्ठ चतुर्दशीमा भव्य मेला लाग्छ,’ बडीकेदार मेला व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर चन्दले भन्नुभयो, ‘त्रयोदशीको राति र चतुर्दशीको दिउँसो बडीकेदारको दर्शन गर्न भारत र तराईबाट भक्तजनहरु आउँछन् ।’

तराईबाट थारू समुदाय सात दिन हिँडेर पनि बडीकेदारको दर्शन गर्न आउँछन् । लेकाली जंगलको बीच भागमा बडीकेदारको शिला पुज्ने गरिन्छ ।

मनमोहक बडीकेदार

गाईबाच्छे डाँडामा दिउँसोको पारिलो घाममा बदाम खानेहरूको भिड लाग्छ । बडीकेदारको महिमाले ताजा श्वास र आँखाले विचित्र संसार हेर्ने अवसर जुराएको भारतको बरेलीबाट दर्शनका लागि ७ औँ पटक आउनु भएका रामबाबु कुरेसीले बताउनु भयो । 

उहाँ केदारबाबाका चार धाममध्ये डोटीको बडीकेदार प्राकृतिक सुन्दरतासँगै धार्मिकरूपमा शक्तिशाली भएकाले आफू बर्सेनि दर्शनका लागि आउने गरेको बताउनु हुन्छ । समुद्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको बडीकेदार दक्षिण डोटीको बडीकेदार गाउँपालिका र बोगटान गाउँपालिकाको दोसाँधमा पर्छ । 

बडीकेदारको अग्लो डाँडामा मनमोहक दृश्य अवलोकन गर्दा एकछिन भए पनि तनाव बिर्सेर नरमाउने बिरलै भएको बडीकेदार घाङ्गलका भैरव साउदले बताउनु हुन्छ । सिरसिरे हावासँगै सधैँ उही र उस्तै प्रकृतिको वातावरण रहने बडीकेदारको सुन्दरता मनोरम रहेको बडीकेदार ।

मनोकामना पूरा हुने विश्वास

जागिर र पदोन्नतिको वरदान माग्न पनि दर्शनार्थीहरू बडीकेदार पुग्ने गर्छन् । मनले इच्छाएको पूरा हुने विश्वासले तराईका आदिवासी थारू समुदाय र भारतको उत्तर प्रदेशका शहर लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाहीबाट बर्सेनि कात्तिक बैकुण्ठ चतुर्दशीमा तीर्थालु आउने गरेको मुख्य पूजारी सिद्धराज बिनाडीले बताउनु भयो । 

‘शिलाको दर्शन र तिलकलाई प्रसादका रूपमा लैजान हजारौँको भक्ति भाव झल्कन्छ’, पुजारी बिनाडीले भन्नुभयो, ‘यो परम्परा वर्षाैँदेखि चल्दै आएको भए पनि हामीले धार्मिक आस्थाका रूपमा मात्र लियौँ, पछिल्लो समय पर्यटनसँग जोडिन लागेको छ ।’ 

त्यस्तै भारतको सिंगाईबाट ११ वर्षदेखि नियमितरूपमा दर्शनका लागि आउने ईश्वरकेश गुप्ताले आफ्नो धेरै मनोकामना पूरा भएको बताउनु भयो । 

बडीकेदारको महिमा

किम्वदन्तीअनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका थिए । 

त्यस समयसम्म बडीकेदारको सामान्य पूजाआजा हुने गरेको थियो । कात्तिक बैकुण्ठ चतुर्दशीका दिन एक जना स्थानीय गोठाला लेकमा निगालो काट्न जाँदा साथीभाइबाट छुट्टिए । उनी एक्लै रात बिताउन बाध्य भए । 

मध्यरातमा देवीदेवताहरू बडीकेदारको शिलामा आगो बालेर नाचगान गर्दै शिवको पूजा गर्न लागेको गोठालाले प्रत्यक्ष देखे । उनले देवीदेवताहरूले मन्त्र उच्चारण गरेको, भक्तिभाव गरेको सबैकुरा टिपेर स्थानीयलाई जानकारी गराए । त्यही बेलादेखि कात्तिक चर्तुदर्शीका बेला बडीकेदारमा पूजाआजा हुने गरेको स्थानीयबासीहरु बताउँछन् । 

अहिले पनि त्यही गोठालाले देखेको देवताहरूको नाचगान र भक्तिभजन झैँ स्थानीय गाउँहरूबाट धामी झाँक्री, भराणीहरू बयाल ल्याएर बडीकेदारमा दैवीशक्ति देखाउने गर्छन् ।

कसरी पुग्ने बडीकेदार ?

दिपायल–चवरा चौतारा– सिमचौरसम्म जिप सेवा सञ्चालित छ । त्यहाँबाट झण्डै चार–पाँच घण्टा पैदल हिँडेर बडीकेदार पुग्न सकिन्छ । 

त्यस्तै कैलालीको धनगढीबाट जान चाहनेका लागि अत्तरिया–सहजपुर–बिपीनगर हुँदै डोटीको अत्तरकाँडासम्म १०४ किलोमिटर बसको यात्रा गर्नुपर्छ । धनगढी बसपार्क र अत्तरियादेखि दैनिक चार वटा बस जान्छन् । अत्तरकाँडाबाट तीन घण्टाको पैदलयात्रापछि बडीकेदार पुग्न सकिन्छ । 

बडीकेदार बोगटान क्षेत्रको मात्रै नभइ तराईका आदिवासी थारू समुदाय र भारतको उत्तर प्रदेशका नागरिकको आस्थाको केन्द्र पनि हो । केदारकै नामबाट बडीकेदार गाउँपालिका हो । यो मेलालाई अपासी सद्भावको मेलाको रुपमा पनि मानिने गरेको स्थानीयवासी गणेश बमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिमेकी देश भारतसहित नेपाली दाजुभाइसँंग भेटघाट र जमघट हुने भएकाले यो मेला आपसी माया र ममता साट्ने केन्द्र भएको छ ।’

भौतिक पूर्वाधार, सडकको स्तरोन्नति भएमा यो ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउन सकिने बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय खड्कबहादुर बोहराले बताउनु भयो । 

बडीकेदारको अवस्थाका बारेमा विभिन्न सञ्चारमाध्यमले महत्वका साथ प्रचारप्रसार तथा पालिका चुनावमा नेकपाबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरको पहलमा केही भौतिक पूर्वाधार निर्माण भएको छ । 

बडीकेदारको विकासका लागि गुरुयोजना बनाएर काम गर्न सके बडीकेदार समग्र सुदूरपश्चिम प्रदेशसहित देशकै प्रमुख पर्यटकीय र धार्मिकस्थलका रुपमा स्थापित हुनसक्ने बडीकेदार गाउँपालिका १ का रोजबहादुर कलेलको भनाइ छ । 

शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडीकेदार शिला नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा विकट अर्थात् भिरको बीचमा रहेको छ । 

अन्तिम अपडेट: फागुन ६, २०७६

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया