ए डिभिजन लिग : सरस्वतीकाे पाेस्टमा मच्छिन्द्रकाे आधा दर्जन गाेल, आर्मी शीर्ष स्थानमा उक्लियाे

 माघ २४, २०७६ शुक्रबार ८:०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ६–१ गाेल अन्तरले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बिहीबार सम्पन्न खेलमा मच्छिन्द्रलाई जित दिलाउन दीपक राइले दुई गोल गरे भने विशाल राई, देवेन्द्र तामाङ,एडिलाजा सोमिडे र आन्द्रेस नियाले एक–एक गोल गरे ।

८७औँ मिनेटमा सरस्वतीका लागि कजिम बुसारीले सान्त्वना गाेल गरे । जितसँगै मच्छिन्द्रले ११ खेलबाट २५ अङ्क बनाएको छ । लिगमा सरस्वतीको यो नवौँ हार हो । सरस्वती ४ अङ्कसहित तालिकाको पुछारमा रहेको छ । 

बिहीबार नै भएकाे दाेस्राे खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई दुई–एक गाेल अन्तरले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लिएको छ ।

आर्मीको जितमा सन्तोष तामाङले दुई गोल गरे । खेलको १५औँ मिनेटमा आर्मीका भरत खवासलाई एपीएफका डिफेन्डरले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सन्तोषले गाेलमा परिणत गरे । 

एपीएफका आशिष लामाले खेलको ३७औँ मिनेटमा गोल गर्दै खेललाई एक–एकको बराबरीमा पुर्‍याएका थिए तर पहिलो हाफ सकिनुअघि खेलको ४१औँ मिनेटमा आर्मीका लागि फेरि सन्तोषले नै गोल गरे । सन्तोषले फ्री किकमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । 

पहिलो हाफमा दुई–एकले पछि परेको एपीएफ दोस्रो हाफपछि पनि सङ्घर्षरत रह्यो । खेलको ४६औँ मिनेटमा आर्मीका जर्ज प्रिन्सको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६०औँ मिनेटमा एपीएफले पाएको राम्रो मौकालाई नवीन लामाले सदुपयोग गर्न सकेनन् ।

यससँगै त्रिभुवन आर्मी क्लब ११ खेलबाट २६ अङ्क बटुल्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको केही घण्टामा नै आर्मी फेरि शीर्ष स्थानमा पुगेकाे हाे । 

ए डिभिजन लिगमा आर्मीकाे याे आठौँ जित हो भने एपीएफको आठौँ हार हो । एपीएफ ११ खेलबाट ५ अङ्कसहित तालिकाको १३औँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया