लमजुङवासी भन्छन् : राष्ट्रकविको जिल्ला भनेर चिनिन पाउँदा खुसीले छाती चौडा हुन्छ

 भदौ २, २०७७ मंगलबार १९:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ– राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्माएको जिल्ला हो, लमजुङ । आफैमा मौलिक कला, साहित्यको उर्वरभूमि पनि हो, लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरे विसं १९७६ असोज ७ गते लमजुङको (पहिलेकाे बाहुनडाँडा गाविसको भीरपुस्तुन) भन्ने ठाउँमा जन्मनुभएको हो ।

उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । उहाँले कवितासँगै गीत, नाटक, खण्डकाव्य लेख्नुभएको छ ।

हृदय छुने सिर्जना

उहाँले रचेका सबै सिर्जना नेपालीको मनमा भिजेको छ, बसेको छ । राष्ट्रकवि घिमिरेले कोरेका सबै सिर्जनामा सरलता, मिठासता भेटिने बताउनुहुन्छ, सुन्दरबजार नगरपालिका ८ अकलाका होतराज ढकाल ।

‘राष्ट्रकविका सबै सिर्जना अत्यन्त राम्रा, सरल, मिठास लाग्छन् । उहाँका सिर्जना हृदय छुने खालका छन्’, ३१ वर्षसम्म संस्कृत/नेपाली विषयको अध्यापन गराएका ७३ वर्षे ढकालले भन्नुभयो । उहाँ आफै पनि छन्दमा कविता लेख्नुहुन्छ । राष्ट्रकवि घिमिरेकै प्रभाव र प्रेरणाकै कारण आफू काव्य सिर्जनामा लागेको उहाँ बताउनुहुन्छ ।

घिमिरेले लेखेको सबै सिर्जना मन पर्ने उहाँले बताउनुभयो । घिमिरेद्वारा लिखित ‘गौरी’ शोक खण्डकाव्यले आफूलाई रुवाएको उहाँले बताउनुभयो । ‘आजभन्दा १५ वर्ष अगाडि घिमिरेको गौरी शोक खण्डकाव्य पढेको थिएँ । त्यो पढ्दा मन छोयो । आँखा रसायो । खण्डकाव्यले साह्रै मन छोयो’, उहाँले स्मरण गर्नुभयो ।

लिला माइतका भुलेर घरको धन्दा तिमीले गर्‍यौ

आमाको ममता भुलेर कसरी माया मलाई गर्‍यौ

छातीबाट झिकेर प्राणसरीको छोरी मलाई दियौ

​ हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ ....

१५ वर्षअघि पढेको ‘गौरी’ खण्डकाव्यका यी श्लोक सुनाउँदै गर्दा उहाँका परेलीका डिल आँसुले भिजिसकेका थिए । ‘साहित्यको माध्यमबाटै देशको शिर उचो बनाए’ लमजुङको विकट गाउँमा जन्मेर । गोठमा गोठालो बनेर । खर्कमा बसेर । वनपाखा घुमेर हुर्केका घिमिरेले कला, साहित्यको माध्यमबाट लमजुङसँगै देशको शिरलाई उचो बनाएको उहाँ सम्झनुहुन्छ ।

घिमिरेको ‘गौरी’ खण्डकाव्य आफूलाई निकै मन परेको सुन्दरबजार नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष समेत रहनुभएका कृष्णकान्त अधिकारीले भन्नुभयो ।

गाईलाई लग्यो नि आज कसले बाच्छो छुटाइकन

पोथी पासा परिन् गुँडका बच्चा नहुर्काइकन

के हेर्छ्याै वियोग धरती माता तिमी फाट हे

आमा बालकको न नाश भगवान संसार भर्ने भए

उहाँले खण्डकाव्यका केही अंश पनि सुनाइहाल्नुभयो ।

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे... गाउँछ गीत नेपाली ज्योतिको पङ्खा उचाली जय जय जय नेपाल सुन्दर, शान्त, विशाल .... यस्ता कैयौँ देशभक्तिका भावले ओतप्रोत भएका गीत पनि लेख्नुभएको छ, उहाँले । मौलिक लोकगीत सुन्दै हुर्केका घिमिरेका सिर्जनामा मौलिकता पाइन्छ ।

देशभक्तिका भावमात्र होइन । मायाप्रेम, मिलन विछोडका विषयमा समेत उहाँले थुप्रै गीत लेख्नुभएको छ । फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा कहिले भेट होला हे राजै यो जिन्दगानीमा । झरीको पछि झुल्केको घाममा निर्झर पहाडको भर्खरै प्रिती बसेको बेला पीर पर्‍याे विछोडको... बाल्यकालदेखि नै साहित्यमा कलम घिमिरेको रचना, नातिकाजीको सङ्गीत र तारादेवीको स्वर भएपछि कस्तो गीत बन्छ होला ? तीन जना विशिष्ट सर्जकको सङ्गम एउटा कालजयी रचना बन्ने नै भो ।

घिमिरेकै शब्दमा स्वरसम्राट नारायण गोपालले स्वर भरेको यो गीत पनि उत्तिक्कै कर्णप्रिय छ । कालजयी छ । आजै र राति के देखेँ सपना मै मरी गएको मै मरी गएको बतास दिनु हाँगाको फूल भुइँ झरी गएको भूइँ झरी गएको मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको कहाँ हो कहाँ बादलभित्र म रोइरहेको म रोइरहेको... मौलिकता, राष्ट्र प्रेम, प्रकृति प्रेम भाव समेटिएको पाइन्छ, कवि तथा गीतकार घिमिरेका साहित्य सिर्जनामा । उहाँका सिर्जना सुने, पढेपछि दिल छोइहाल्ने । मनमा बसिहाल्ने, ढुकढुकी बनेर । ‘गीत, कविता, खण्डकाव्य, गीतिनाटक, कथाजस्ता अनेकौँ विधामा सशक्त कलम चलाउने घिमिरे साँच्चै बहुमुखी प्रतिभा हुनुहुन्छ’, उनीहरु भन्छन् ।

सरल र मिलनसार कवि घिमिरेले लामो समय शिक्षण पेसामा आफ्नो समय खर्चनुभएको पनि जानकारहरु बताउँछन् । ‘घिमिरेका सिर्जना जति सरल, मिठास लाग्छन्, उहाँको व्यवहार पनि उत्तिक्कै सरल र मिलनसार छ’, भोटेओडारका कीर्तिनाथ सापकोटाले भन्नुभयो ।

‘उहाँका गीत, कविता सुन्दा आत्मबल बढेको आभास हुन्छ । उहाँको नामबाट सिङ्गो लमजुङ चिनिन्छ । हामीलाई गौरवको महसुस हुन्छ’, शिक्षण पेसामा लामो समय बिताउनुभएका उहाँले थप्नुभयो, ‘राष्ट्रले उहाँलाई उच्च सम्मान गरेको छ । हामीलाई खुसी लाग्छ ।’ जन्मभूमिलाई माया गर्ने कवि जन्मे/हुर्केको माटोको मायालाई कसलाई नहोला र ? त्यसैले कवि घिमिरेले लमजुङको माटोलाई असाध्यै प्यार गर्नुहुन्छ । आदर गर्नुहुन्छ । यसै भन्छन् उहाँलाई नजिकैबाट चिन्नेहरु ।

‘लमजुङप्रतिको माया उहाँको मनमा छ । लमजुङप्रतिको उहाँका सच्चा आधार छ’, केही वर्ष अगाडि घिमिरेकै निवासमा पुगी घिमिरेलाई भेट्नुभएका भोटेओडारका रघुनाथ अधिकारीले भन्नुभयो । ‘मिजासिलो व्यवहार । उस्तै हँसिलो चेहरा । मुस्कुराउँदै बोल्ने उहाँको बानी । उहाँ साह्रै मिलनसार हुनुहुन्छ’, रघुनाथले घिमिरेको प्रशंसा गर्नुभयो ।

छन्दमै कविता लेख्ने भएनन्

घिमिरेका गीत कवितासँगै ‘गौरी’ शोक खण्डकाव्यले आफ्नो दिल छोएको उहाँ बताउनुहन्छ ।

घिमिरेकै प्रभावका कारण आफूले छन्दमै कविता लेख्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले छन्दमै लेखिएको ‘मितेरी आकाश’ नामक कविता सङ्ग्रह पनि प्रकाशित गरिसक्नुभएको छ । राष्ट्रकवि जन्मेको लमजुङमा पछिल्लो समय छन्दमै कविता लेख्ने युवापुस्ता नभएका उहाँ बताउनुहुन्छ ।

‘लमजुङ राष्ट्रकवि जन्माउने जिल्ला हो । तर पछिल्लो पुस्ताले कविताप्रति खासै रुची नदिएको जस्तो लाग्छ । छन्दमा कविता लेख्ने युवा पुस्ताको त सङ्कट नै छ’, उहाँले थप्नुभयो ।

देशका गहना : राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि घिमिरे लमजुङसँगै देशका गौरव हुनुहुन्छ । गहना हुनुहुन्छ । साँच्चै नै राष्ट्रकवि घिमिरेका गीत, कविता सुन्दै गर्दा, पढ्दै गर्दा मनमा छुट्टै आभास हुन्छ । ऊर्जा थपिएको महसुस हुन्छ । राष्ट्रकविको जिल्ला भनेर लमजुङ चिनिदाँ सिङ्गो लमजुङवासी गर्व गर्छन् । खुसीले छाती चौडा बनाउँछन् । घिमिरेका कविता, गीतले सिङ्गो देशको माटो बोल्छ । संस्कृति बोल्छ । जनजनको भोगाइ बोल्छ । त्यसैले त हो, उहाँ जनजनको मनमा हुनुहुन्छ । सबैको मानसम्मान, आदर र मायाको बीचमा हुनुहुन्छ ।

(उज्यालो अर्काइभबाट) 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया