नेकपा नेतालाई रामचन्द्र पाैडेलकाे चुनाैती : ‘आफैले संरचना निर्माण गरी उद्घाटन गरेर देखाउनुस्’

‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित हुँदैन’

 मंसिर १८, २०७७ बिहिबार १७:१७:५५ | समुद्र पौडेल
unn.prixa.net

तस्बिर : रासस

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नहुने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १, १० र ११ जोड्ने मोटरपुलको उद्घाटन गर्दै नेता पौडेलले सिद्धान्तहीन कम्युनिस्ट सरकारको कारण देशमा अवसरवाद, लेनदेनको राजनीति मौलाएको आरोप लगाउनुभयो । 

कम्युनिस्टहरू संसारमा समस्या जन्माउन मात्र सक्ने भन्दै नेता पौडेलले कम्युनिस्टबाट कुनै पनि समस्याको समाधान हुन नसक्ने बताउनुभयो । नेता पौडेलले तस्करीको पैसा देखाउँदै पार्टी प्रवेश गराउनु सङ्घीय लोकतन्त्र नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।  

राज्य कोषको पैसा दुरूपयोग गरेर निर्माण भएका संरचना देखाएर जनप्रतिनिधिले फुर्ती लगाउने गरेको भन्दै नेता पौडेलले स्थानीय तहमा जनप्रतिनिधि भएको अवस्थामा संसद् विकास कार्यक्रमको कुनै औचित्य नभएको बताउनुभयो । ‘अहिलेको अवस्थामा स्थानीय विकास पूर्वाधार कार्यक्रमको कुनै आवश्यकता छैन’, उहाँले भन्नुभयो, ‘केपी ओलीले षड्यन्त्र गरे, स्थानीय जनप्रतिनिधिले फुर्ती देखाउने काम भएको छ ।’ 

पुल उद्घाटनका लागि आफू हिजो कार्यक्रम स्थलमा आए पनि राजनीति पूर्वाग्रहमा प्रशासनले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको उहाँको आरोप छ । ‘हिजो पनि म त्यहाँसम्म आएको थिएँ, १० हात मात्रै बाँकी थियो’ पौडेलले भन्नुभयो, ‘प्रहरीले समातेर नियन्त्रणमा लियो, आज उनीहरु लज्जित भएर शिर निहुरिएको छ ।’

विकास गर्नुको साटो नेकपाले नागरिकको अगाडि रवाफ मात्र देखाएको भन्दै नेता पौडेलले आफूले संरचना निर्माण गरेर उद्घाटन गरेर देखाउन नेकपाका नेतालाई चुनौतीसमेत दिनुभयो । ‘सोढेँको पुलको काम पनि मेरै अगुवाइमा भएको थियो, त्यही भएर म आफैले उद्घाटन गरेँ’, उहाँले भन्नुभयो, ‘खुबी भए मास्दीको पुल बनाएर उद्घाटन गर्नुस् ।’ मास्दीको पुलको पनि डिजाइन र सर्भेको काम आफैले गरेर छाडेको उहाँको दाबी थियो ।   

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया