शोकीको ‘उषाको प्रभात’मा स्वदेशमै काम गर्ने सन्देश

 फागुन २९, २०७७ शनिबार १२:३८:८ | रासस
unn.prixa.net

काठमाण्डाै - 'भाँडोभरि पानी आउँछ सागरमै लिए पनि, अन्धकारै रहने गर्छ लाखौँ तारा चम्के पनि'।

साहित्यकार अशोक शोकीको ‘उषाको प्रभात’ नामक गीतिनाटक कृतिका यी हरफले आफूसँग जति क्षमता छ त्यतिमात्र प्राप्त हुने हुँदा आफूसँग जे छ त्यसैमा खुशी हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । 
 
उषाको प्रभातमा ‘उषाको प्रभात’ र ‘भाइटीका’ नाटक रहेका छन् । माथिका हरफहरु भाइटीका नामक गीति नाटकबाट लिइएको हो । भाइटीका निम्नवर्गीय परिवारको आर्थिक सङ्कटलाई विषयवस्तु बनाइएको छ । आर्थिक समस्या समाधानका लागि परदेश जाने निर्णय गरेको नाटकको प्रमुख पात्र श्यामलालले धन कमाउनका लागि सङ्घर्ष गर्नुपरेको कुरालाई केन्द्रबिन्दु बनाइएको छ । धनबिना जीवन सहज नहुने तर्कमा श्यामलालकी पत्नी शोभाले यी हरफहरु बताएकी हुन् ।

गीति नाटकमा धन कमाउन विदेश जाने र स्वदेशमै श्रम गर्ने भन्ने मतका बीचमा द्वन्द्वको सिर्जना भएको विषयवस्तु मुख्य केन्द्रमा रहेको देखिन्छ । नाटकको सुरुदेखि नै स्वदेशमै काम गर्न सुझाएकी पत्नी शोभाको सल्लाहलाई बेवास्ता गरेर धन कमाउन विदेश गएको श्यामलाल ठगीमा परेर फर्किएपछि नाटक समाप्त भएको छ ।

छोरा सुजन र आमा शोभाले आफ्नै ठाउँमा दयालु मानिसको साथ पाएर तत्कालको गुजारा चलाउन सक्छन् तर, धेरै आशा बोकेर गएका बाबु श्यामलाल विदेशबाट रित्तै फर्किएको घटनाले स्वदेशमै काम गर्नुपर्ने सन्देश नाटकले दिएको छ । नौ दृश्यमा संरचित नाटक तत्कालको समस्या भोकको बेला खाना र भाइटीकाको सामग्री जुटाउने समाधानमा केन्द्रीत देखिन्छ ।

‘उषाको प्रभात’ नामक गीति नाटकमा असमान वर्गका युवायुवतीको प्रेमलाई विषयवस्तु बनाइएको छ । जम्मा दुई दृश्यमा संरचित प्रस्तुत नाटकमा पात्रको आन्तारिक द्वन्द्वलाई सङ्केत गरिएको आत्मलापमा आधारित एकल गीतबाट भएको छ । साथै, नयाँ युवा पुस्ताको स्वतन्त्र निर्णयको समर्थन र श्रमप्रतिको विश्वासको प्रस्तुतिले यो आदर्शवादी परिणतिमा टुङ्गिएको छ ।

याे गीति नाटक ग्रामीण परिवेशमा केन्द्रित छ । पात्रको चरित्रलाई हेर्दा परिस्थितिले निर्माण गरेकाजस्ता देखिन्छन् । संवादमा समकालीन समाजका विकृति र यौनहिंसाको पनि सङ्केत गरिएको छ । २०२३ साल चैत ३० गते कीर्तिपुरको भाजाङ्गाल-७ मा जन्मनुभएका साहित्यकार शोकीले अहिलेसम्म आठवटा कृति प्रकाशन गरिसक्नुभएको छ ।

त्यसमा ‘देश मेरो’ पुस्तक-२०६२ (कविता), ‘मनको यात्राःअविश्रान्त पाइला’-२०७३ (दर्शन), ‘कमल यसरी चिप्लियो’-२०७३ (कविता), ‘जि धेधेय् चुल’-२०७६ (नेपाल भाषोको कविता), ‘कसलाई आफ्नो भन्ने ?’-२०७६ (निबन्धसङ्ग्रह), ‘पालुवाको बैँस’-२०७६ (कवितासङ्ग्रह) र ‘उषाको प्रभात’-२०७६ (गीतिनाटक) रहेका छन् ।

वरिष्ठ सङ्गीतकार स्व अमर गुरुङको प्रेरणाबाट साहित्यकार शोकीले साहित्य यात्रालाई रोज्नुभयो । 'अमर गुरुङले मलाई निकै प्रेरणा दिनुहुन्थ्यो', साहित्यकार शोकीले थप्नुभयो, 'त्यही प्रेरणाले मैले आत्मैदेखि लेख्न थाले, संस्कृतिविद् सत्यमोहन जोशी, कलाकार निर शाहले पनि मलाई साहित्यको कोशेढुङ्गाको उपमा दिनुभएको थियो ।'

उहाँका कवितामा प्रेम र दर्शन बढी देखिन्छन् । मानिसको मनमा चेतना जगाउन सक्नु ठूलो कुरा भन्ने साहित्यकार शोकीलाई लागेको छ । 'मान्छे महत्वपूर्ण जन्म हो, चेतना जगाउन सक्नुपर्छ', उहाँले भन्नुभयो, 'शक्ति, सन्तान र सम्पत्ति दुःखका कारण हुन, स्वास्थ्य र मन ठीक भएमात्र शान्ति मिल्छ ।'

शोकीको ‘उषाको प्रभात’ नामक गीति नाटकमा सुरुमा लेखिएका हरफ श्यामलालकी पत्नी शोभाको प्रश्नमा श्यामलाले यसरी उत्तर दिएका छन्, 'प्रत्यन्नबिना भेटिन्न रत्न धनबिना जीवन, कर्म गरेर मर्म हटाए पछुतो हुँदैन ।'

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया