मध्य पश्चिम विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दाेलित, शैक्षिक कार्यक्रम प्रभावित

 साउन १२, २०७८ मंगलबार १९:५६:३० | मुना हमाल
unn.prixa.net

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयमा अहिले प्राध्यापक र विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।  उपकुलपति तथा पदाधिकारीको कार्यशैलीप्रति र विभिन्न माग राखेर उनीहरू आन्दोलित भएका हुन् । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, स्ववियु, क्रान्तिकारी, अखिल छैटौँ, अनेरास्वयुलगायतका सङ्गठनले आन्दोलन गर्दै आएका छन् । 

प्राध्यापक तथा विद्यार्थीको आन्दोलनले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि प्रभावित भएको छ । प्राध्यापकहरूले इन्जिनियरिङ सङ्काय अन्तर्गत एमई कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ प्रसाद यादवमाथि गरिएको कारबाही तत्काल फिर्ता लिनुपर्ने मुख्य माग राखेर आन्दोलन गरिरहेका छन् । यादवले विद्यार्थीलाई मनलाग्दी नम्बर दिएर पास गराएको आरोपमा विश्वविद्यालयले स्थायी सेवाबाट बर्खास्त गरेको थियो । विभागीय कारबाही गर्ने ठाउँ हुँदा हुँदै पनि विश्वविद्यालयको ऐन नियम विपरीत हुकुमी शैलीमा स्थानीय सेवाबाट बर्खास्त गरिएको उनीहरूको भनाइ छ । 

उपकुलपतिले एमई कार्यक्रमको निर्देशकमा आफ्ना मान्छेलाई राख्नका लागि नियतवश नै स्थायी सेवाबाट बर्खास्त गरेको प्राध्यापकहरूको आरोप छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष सिंहराज गुुरुङले विश्वविद्यालयमा कार्यरत प्राध्यापक, कर्मचारीलाई पदाधिकारीले त्रासपूर्ण वातावरण सिर्जना गरी निलम्बन, ग्रेड रोक्का, सरुवा, बर्खास्त गरेका निर्णय खारेज गर्नुपर्ने  बताउनुभयो ।  यसमा छानबिन समितिले अन्य व्यक्तिको पनि गल्ती देखिएको र यादवलाई मात्र विभागीय कारबाही गर्न सकिने भनेर सिफारिस गर्दा त्यो विपरीत स्थायी पदबाट नै बर्खास्त गर्नु आपत्तिजनक भएको गुरुङको भनाइ छ ।  

राजनीतिक पूर्वाग्रह राख्दै एकपक्षीय ढङ्गले गरिएका पदाधिकारी नियुक्तिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, उपप्राध्यापक तथा कर्मचारीको विज्ञापन र छनोट प्रक्रिया अवलम्बन गर्नुपर्ने, लामो समयदेखि पढाउँदै आएका प्राध्यापकलाई करार बनाइनुपर्ने र करारमा रहेकालाई विशेष आन्तरिक प्रक्रियाबाट स्थायी बनाइनुपर्ने माग प्राध्यापकहरूले राखेका छन् । विश्वविद्यालयले मागप्रति बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले विश्वविद्यालयका सम्पूर्ण कार्यक्रमहरु बहिस्कार गर्ने, आजदेखि प्रत्येक दिन दुुई घण्टा उपकुलपतिको कार्यशैलीप्रति केन्द्रीय क्याम्पसको गेटमा भण्डाफोर कार्यक्रम गर्ने र रिले अनशन, आमरण अनशनलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 

यस्तै विद्यार्थीहरू पनि गएको हप्तादेखि विभिन्न माग राख्दै आन्दोलनमै छन् । उनीहरूले कोरोनाको जोखिम कायमै रहेकाले अनलाइनमार्फत नै परीक्षा सञ्चालन गर्नुपर्ने माग राखेका छन् । विद्यार्थी सङ्गठनहरूले कोरोना अवधिभरसम्मको शुल्क पूर्ण रूपमा मिनाहा गर्नुपर्ने, विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति कायम गरिनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ, नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् । विश्वविद्यालय प्रशासनमाथि कर्मचारीलाई गालीगलौज गर्दै अमानवीय व्यवहार गर्ने र आफन्तको भर्ती केन्द्र बनाउने काम गरेको आरोप छ । 

आन्दोलन पक्षसँग वार्ता गर्न विश्वविद्यालयले उच्चस्तरीय समस्या समाधान समिति बनाएको छ । समितिले आन्दोलनरत पक्षलाई वार्तामा आउन अपिल गरेको छ । अहिलेसम्म समितिसँग प्रभावकारी रूपमा वार्ता हुन सकेको छैन । आफूहरूले राखेका माग सम्बोधनका लागि वार्ता समितिसँग पटक–पटक छलफलमा बस्दा पनि समाधान ननिस्किएको उनीहरुको भनाइ छ । विश्वविद्यालयमा तालाबन्दी गर्ने लगायतका गतिविधि पनि हुँदै आएका छन् । आन्दोलनका कारण विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि प्रभावित भएका छन् । विश्वविद्यालयले सार्वजनिक गरेको परीक्षाको कार्यतालिकासमेत प्रभावित भएको छ । विश्वविद्यालयले आन्दोलनका कारण सबै परीक्षा स्थगित गरेको छ । 

यसबारेमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विद्यार्थी तथा प्राध्यापकले राखेका कतिपय माग सान्दर्भिक नभएकाले सम्बोधन गर्न नसकिने बताउँदै आउनुभएको छ । यद्यपि प्राध्यापक र विद्यार्थीले राखेका केही माग जायज भएकाले वार्ताबाटै समाधान गर्न सकिने भन्दै उच्चस्तरीय वार्ता समिति बनाएर छलफल गरेको उहाँको भनाइ छ । विश्वविद्यालयमा गलत कार्य गर्नेलाई नछोड्ने भन्दै गलत काम गर्नेसँग विश्वविद्यालयले कुुनै पनि सम्झौता नगर्ने उपकुलपति सिंहले आश्वासन दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया