नवलपुरका १० मतदानस्थल अति संवेदशील

 चैत १९, २०७८ शनिबार १४:३७:२३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्था विश्लेषण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका मतदानस्थलको सुरक्षाका दृष्टिले लेखाजोखा सुरु गरको छ । त्यही आधारमा जिल्लाका १० मतदानस्थल अति संवेदनशीलमा राखिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।  

चुनावमा मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्धनका लागि जिल्लामा रहेका एक सय १३ मतदानस्थललाई तीन तहमा बाँडिएको छ । जसअन्तर्गत १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, 'रेस्पोन्स टाइम', सामाजिक संरचना आदिको आधारमा जिल्लाका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । ३८ वटा मतदानस्थललाई संवेदनशीलमा राखिएको छ भने ६५ वटा मतदानस्थललाई सामान्यमा राखिएको उहाँले बताउनुभयो । 

जिल्लामा रहेका सबै मतदानस्थलको केही दिनमा निरीक्षण गर्ने समेत उहाँले बताउनुभयो । त्यहीअनुसार स्थानीय तहको चुनावकाे दिन मतदानस्थलको सुरक्षा, मतपेटिका गणना स्थलसम्म सुरक्षित रूपमा लैजाने योजनासहित सुरक्षा प्रबन्ध गरिने उहाँले बताउनुभयो । 

नवलपुरमा दुई सय ९९ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार नवलपुरमा २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको सङ्ख्या दुई लाख ५४ हजार ६ सय १५ जना पुग्नेछ । जसमा पुरुष एक लाख २१ हजार ३८, महिला एक लाख ३३ हजार पाँच सय ७३ र अन्य चार जना मतदाता रहेका छन् । 

यसैगरी जिल्लामा स्थानीय तहको चुनाव सम्पन्न गर्नका लागि झन्डै १५ सय जना कर्मचारी आवश्यक पर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद भुसालले बताउनुभयो । यस्तै झन्डै नौ सय तीन जना स्वयंसेवक आवश्यक पर्ने उहाँले बताउनुभयो । यसबाहेक सुरक्षाकर्मी रहने छन् । 

आवश्यक कर्मचारी जिल्लामा रहेका सरकारी कार्यालयबाट व्यवस्थापन गरिने जिल्ला निर्वाचन अधिकारी भुसालले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया